काठमाडौँ। देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी गएको २४ घण्टाभित्र चार जनाको मृत्यु भएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका-१७, पकलीस्थित सडकमा मङ्गलबार बिहान बसको ठक्करबाट पैदलयात्री २२ वर्षीय सराज मनसुरीको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो।
यता, धनुषाको जनकपुरधाम उपमहानगरपालिका-२४ स्थित सडकमा सोमबार बिहान दुई मोटरसाइकल आपसमा ठोक्किँदा ६० वर्षीया कोशिला देवी मुखियाको मृत्यु भएको छ। गम्भीर घाइते भएकी उनलाई उपचारका लागि न्यूरो अस्पताल विराटनगरतर्फ लैजाने क्रममा बाटोमै निधन भएको हो। प्रहरीले ठक्कर दिने मोटरसाइकलका चालकलाई नियन्त्रणमा लिएको छ।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका-३, घोडपालीस्थित सडकमा सोमबार बेलुकी लहरीको ठक्करबाट ४ वर्षीया अनुष्का चौधरीको मृत्यु भएको छ। जिल्ला अस्पताल परासीमा उपचारको क्रममा उनको निधन भएको हो। लहरी चालक प्रहरी नियन्त्रणमा छन्।
यस्तै, रूकुम पश्चिमको चौरजहारी नगरपालिका-६, शान्ति बजारस्थित सडकमा सोमबार साँझ ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालक ३० वर्षीय कृष्ण विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका विकको मिसन अस्पताल चौरजहारीमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

