सुर्खेत । दैलेखको दुल्लू नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ८ करोड ८१ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको छ । मंगलबार सम्पन्न नगर सभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा उक्त बजेट प्रस्तुत गरिएको हो ।
नगर उपप्रमुख विना कार्कीले सभासमक्ष विनियोजन प्रस्तावसहित १ अर्ब ८ करोड ८१ लाख ४९ हजारको बजेट वक्तव्य प्रस्तुत गरेकी थिइन् । बजेटमा कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रलाई प्राथमिकता दिइएको बताइएको छ ।
बैठकमा लेखा समितिका संयोजक रामचन्द्र शर्माले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । बैठकले नगर प्रमुख भरत प्रसाद रिजालले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको थियाे ।
यसैबीच गुराँस गाउँपालिका दैलेखले आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि बजेट सार्वजनिक गरेको छ । ७३ करोड ६१ लाख ४४ हजार ९५५ रुपैयाँको बजेट गाउँपालिकाका उपाध्यक्ष शिवाकुमारी खड्काले सार्वजनिक गरेकी हुन् ।
बजेटले मुख्यगरी समृद्ध, समुन्नत, प्रविधिमैत्री र पर्यटनमैत्री गाउँपालिकाको निर्माण गर्ने सोच र आर्थिक, भौतिक, सूचना प्रविधि र पर्यटन पूर्वाधार विकास गर्दै समृद्ध, समुन्नत र आत्मनिर्भर गाउँपालिकाको निर्माण गर्ने लक्ष्य लिएको खड्काले बताइन् ।
किसानको हक हित संरक्षण संबर्द्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भुउपयोग नीतिको अवलम्बन गरी कृषिको व्यवसायीकरण विविधिकरण र बजारीकरण गरी कृषकको अवस्था समुन्नत र पेशा सम्मानजनक बनाउने र आर्थिक क्षेत्रका सबै गतिविधिमा स्वच्छता जवाफदेहीता र प्रतिस्पर्धाको प्रबर्द्धन गर्नेगरी बजेट विनियोजन गरिएको खड्काले जानकारी दिइन् ।
विकासका गतिविधिमा गुराँसका जनताको श्रम सीप र स्थानीय स्रोत साधनको अधिकतम परिचालन गर्ने र स्वास्थ्यमा पूर्ण खोप सुनिश्चितता घरदैलो सेवा सुलभ र सुरक्षित मातृत्व सेवा लगायतको कार्यक्रम मार्फत समग्र गुराँसका जनतामा आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूति दिलाउने उदेश्य बजेटले राखेको छ ।
गाउँपालिकाका सामाजिक साँस्कृतिक धार्मिक सम्पदा र असल संस्कारको संरक्षण र प्रबर्द्धनमार्फत् धार्मिक साँस्कृतिक पर्यटनको विकास गर्ने र गरिबीको अन्त्य र पीछडिएको क्षेत्र वर्ग र समुदायको उत्थान गर्न बजेट विनियोजन गरिएको खड्काले बताइन् ।
शिक्षालाई वैज्ञानिक व्यवहारिक तथा प्रविधिमैत्री बनाई सक्षम जनशक्ति निर्माणको आधार तयार गर्ने, विधिको शासन सार्वजनिक सेवालाई प्रभावकारी जवाफदेही जनमुखी छिटो छरितो र कम लागतमा उपलब्ध गराउनेगरी बजेट विनियोजन गरिएको छ ।
यस्तै, सार्वजनिक सेवा प्रवाहलाई छिटो छरितो बनाउन गुराँस गाउपालिकाका आठै वडालाई सूचना प्रविधिको गुणस्तरीय पहुँचयुक्त बनाउने र आकस्मिक रुपमा आइपर्ने संकट विपद र प्रकोप व्यवस्थापनको लागि पूर्वतयारी गर्ने र राहत तथा पुनर्स्थापनाको लागि पालिकालाई सक्षम बनाउने उदेश्य बजेटको छ ।

