काठमाडौं । मदन पुरस्कार गुठीले सोमबार (असोज २७) दुई सर्जकलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
गुठीले केही समयअघि घोषित २०८१ सालका निम्ति ‘जगदम्बाश्री सम्मान’ नेपाली लोकगायन तथा लोकसंस्कृतिमा समर्पित सर्जक प्रेमदेव गिरीलाई प्रदान गरेको छ ।

यस्तै, ०८१ सालको मदन पुरस्कार ‘उरमाल’ उपन्यासका निम्ति कृतिका लेखक छुदेन काविमोलाई प्रदान गरियो । दुवै सम्मान/पुरस्कारका साथ चार/चार लाख रुपैयाँ नगद राशि समेत प्रदान गरियो ।

उक्त अवसरमा संस्कृतिविद् प्रा. डा. वीणा पौड्यालले विद्वत् प्रवचन प्रस्तुत गरेकी थिइन् ।
पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत सर्जक उपन्यासकार काविमो र लोककला सर्जक गिरीले आफ्ना धारणा राखेका थिए ।
मादलवादनका पर्यायवाची, प्रेमदेव गिरी
प्रेमदेव गिरी, जसको नाम नै काफी छ । नेपाली लोककला र सङ्गीतको कुरा गर्दा नछुट्ने नाम हो, प्रेमदेव गिरी । उनको जीवनी नियाल्दो यस्तो लाग्छ, गिरीको जन्म नै लोकसंस्कृतिका लागि भएको हो । होइन भने आफ्नो सिङ्गो जिन्दगी नै लोकसंस्कृति र सङ्गीतका लागि सुम्पिने थोरै मान्छे हुन्छन्, जसभित्र उनी निर्विवाद पर्दछन् ।
वि.सं. २०१० सालमा सुर्खेतको हिलेखालीमा जन्मिएका प्रेमदेव गिरी १४ वर्षको कलिलो उमेरदेखि नै निरन्तर रङ्गमञ्चमा लागिरहेका छन् । विशेष गरी मादलवादन, लोकगीत सङ्कलन एवम् नाट्यकर्मीको हैसियतमा राष्ट्रकै गहनाको रूपमा परिचित छन् उनी । कला क्षेत्रमा आधादर्जन सम्मान तथा पुरस्कारबाट सम्मानित गिरी रसिया, भारत, हङकङ, संयुक्त अधिराज्य लगायत नेपालका प्रायः सबै जिल्ला पुगेका छन् । सानै उमेरदेखि कलायात्राको चिनारी गराउनु आफ्नो प्रमुख कर्तव्य ठान्ने गिरीले करिब एक सय ५० भन्दा बढी लोकगीतहरू रेकर्डिङ्ग गराइसकेका छन् । गिरी कला क्षेत्रमा समर्पित रही निरन्तर निःस्वार्थ कलाकारिता गर्दै आएका छन् । झण्डै २०३० को दशकदेखि २०५० को दशकसम्म मादलवादनमा राष्ट्रमै वर्चश्व कायम गरी ख्याती कमाएका मादलवादनका पर्यायवाचीका रूपमा परिचित छन् ।

गिरीकै कारण झ्याउरे, सिंगारु र ख्याली नृत्यका माध्यमबाट सुर्खेतको राष्ट्रिय पहिचान बनेको छ । आफ्नै लोक परिवेशका, मेला, पर्व, पूजाआजा पर्व विशेषका सांस्कृतिक पक्षका लोकसङ्गीतसँग सानै उमेरदेखि प्रभावित हुन्थे । उनलाई त्यसले छुन्थ्यो । कलाकारिता गिरीको सबैभन्दा ठूलो रुचि थियो । रङ्गमञ्चमा विधिवत रूपमा भने २०२४ सालदेखि प्रवेश गरेका हुन् । पहिलो पटक उनले अभिनय, नृत्य र वाद्यवादनको रूपमा मञ्च टेके । त्यसपछि उनको रङ्गमञ्चको यात्रा हालसम्म निरन्तर चलिरहेको छ । ७२ वर्षीय गिरी अहिले पनि उत्तिकै फूर्तिला छन् । रङ्गमञ्च भनेपछि हुरुक्कै हुन्छन् । प्रस्तुतीका लागि जहाँ पनि पुग्छन् । सुर्खेतमा हुने कुनै पनि सांस्कृतिक कार्यक्रम उनी विना खल्लो हुने गर्दछ । यो यात्रामा उनले थुप्रै दुःख र सुखसँग साक्षात्कार गरेका छन् । ‘मैले मेरो भोगाइहरूलाई सम्झदा प्रत्येक ऋतु झै लाग्छ । यो यात्रामा हिँड्दाका दिन सम्झदा आफूलाई एउटा नदीले यात्रा गर्दा जसरी अविरल नदीको प्रवाह वर्षमा परिवर्तन भइरहन्छ मेरो दुःख–सुख पनि त्यस्तै छ ।’ उनले भने । उनले कलाकारिताकै क्रममा स्वरसम्राट नारायण गोपालसँग १२ वर्ष सहयात्रा गरे । तर उनीसँगै सहयात्रा गर्ने सुर्खेती कलाकारहरू सहकर्मीहरू झ्याउरे नृत्यकार टेकराज भारती, ख्याली नृत्यकार गोपाल बस्नेत, टप्पा नृत्यकार भरत शर्माहरू नहुनुको पीडा उनी पटक–पटक महसुस गर्छन् ।

गिरी कलाकारितालाई उन्नत समाजको सुन्दर पक्षको रूपमा परिभाषित गर्दछन् । ‘कला भन्नु मान्छेले बाचुञ्जेल भोग्ने गरेका तिता–मिठा अनुभवको अनुभूति पनि हो र स्वयम्मा रम्न र सुखी, खुशी रहने एउटा विधा पनि होे’ उनले भने । उनी कलाकारितालाई यति महŒव दिन्छन् कि कलासंस्कृतिविनाको देशको पहिचानपूर्ण नहुने उनको धारणा छ । ‘भाषा, भेष रहे देश रहन्छ, कला–संस्कृतिले हाम्रो पहिचान रहन्छ, त्यसैले भाषा, भेष, भेक, देश सुहाउँदो संस्कृति र कलाको विकास होस्, आफ्नो पहिचान नगुमोस् । भेषै रहेन, भाषा रहेन, भेकै रहने भने देश कहाँ, त्यसैले आफ्नो मौलिकतामा रम्न र यसको संरक्षण–सम्वद्र्धन गर्न सबैले पहल गरौं’ उनी भन्छन् ।
सुर्खेतका विशिष्ठ व्यक्तित्व प्रेम देव गिरी । मूर्धन्य कलाकार प्रेमदेव गिरीलाई नचिन्ने सायदै होलान । कलामा नै जीवन समर्पित गरेका प्रेमको नाम जति मीठो छ त्यति नै मीठो छ उनको जीवन, सङ्घर्ष । प्रेमदेवका चाउरिएका गाला हेर्दा ती गालामा गीत÷सङ्गीतका मिठासपूर्ण भाव भेटिन्छन् । उनको जीवन नियाल्दा उनले साङ्गीतिक क्षेत्रमा गरेका अतुलनीय सङ्घर्षको पहाड भेटिन्छ । प्रेमदेव एउटा सिङ्गो नाम मात्र होइन पूर्ण जीवन पनि हो ।

प्रेमदेव गिरीको बाल्यकाल अभावमा बित्यो । नेपालको त्यो बेलाको परिवेशलाई सम्झदा शैक्षिक, खेलकुद र कला क्षेत्रमा त्यति विकास भएको थिएन । उमेर बढ्दै जाँदा उनले सुर्खेतको वीरेन्द्रनगरमा गुरुकूल शिक्षा लिए । त्यसपछि विक्रम संवत् २०१६ सालमा कक्षा १ मा तत्कालीन पब्लिक मिडिल स्कुल गोठीकाँडा सुर्खेतमा भर्ना भए । हाल यो स्कुलको नाम जनउच्च मावि रहेको छ । त्यहाँ उनले ८ कक्षासम्म अध्ययन गरे । ९ र १० को शिक्षा भने उनले सुर्खेत गुर्वाकोटस्थित आनन्द पब्लिक उच्च माध्यामिक विद्यालयबाट लिए । माध्यामिक तहको शिक्षा हासिल गरेपछि गिरीले उच्च शिक्षा हासिल गर्ने मौका भने पाएनन । पढ्ने रहर एकातर्फ थियो भने अर्कोतर्फ साङ्गीतिक क्षेत्रको अद्भुत रहर । यी दुई रुचिमध्ये उनले साङ्गीतिक क्षेत्रलाई नै रोजे ।
विक्रम संवत् २०२९ सालमा १४ अञ्चलबाटै सहभागिता जनाउने गरी अधिराज्य व्यापी नृत्य प्रतियोगिता भयो । नृत्य प्रतियोगितामा भाग लिने सुअवसर प्राप्त गरेका गिरीले ६ जनाको टिम लिएर प्रतियोगितामा भाग लिन पुगे । त्यस प्रतियोगितामा उनले मौलिक झ्याउरे नृत्य प्रस्तुत गरेका थिए । यो प्रतियोगिताले सुर्खेत जिल्लाको कला संस्कृतिको पहिचान राष्ट्रमा नै चुलियो । त्यहाँ उनले गीत र नृत्य दुवैमा प्रथम स्थान हासिल गरे । तत्कालीन अवस्थामा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले प्रतिभाको कदर गरेर सेवा गर्ने अवसर प्रदान ग¥यो । उनले २०२९ सालदेखि २०४१ सालसम्मको समय सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा बिताए । त्यतिबेला उनले २ सय रुपैयाँमा वाद्यवादकको नियुक्ति पत्र बुझेका थिए । पछि उनले जागिर छाड्ने बेला २०४१ सालमा ९ सय ७५ रुपैयाँ पुगेको थियो । राष्ट्रिय सांस्कृतिक संस्थानमा जागिर छोड्दाको क्षण गिरीलाई दुःखद् लाग्छ । काम गर्दाको बखत भने गिरीले थुप्रै अवसर प्राप्त गरेका थिए । जुन अवसरले उनलाई विश्व सामु चिनाएको छ । त्यस अवधिमा उनले वाद्यबाधनसँगै गीत संकलक र रङ्गमञ्चीय भूमिकामा राम्रो दखल हासिल गरे । उनी भन्छन्, ‘विश्व नै रङ्गमञ्च हो । वास्तविक जीवनको यथार्थ भोगाइलाई ढालेर रङ्गमञ्चको माध्यमबाट गरिने एक किसिमको अभिनय हो । जुन प्रत्येक जीव र मानवले बाँचुन्जेलसम्म आफूलाई सुरक्षित राख्न गर्छ ।’जीवनका कथा र कहानी बनाउँदै ,अनिनय गर्दै, गीत लेख्दै र मादल बजाउँदै जीवन व्यतीत गरिरहेका छन् प्रेम देवले ।

२०१० साल माघ १० गते आमा लिलादेवी गिरीले उनलाई संसार देखाइन् । बुवा हरिलाल गिरीको न्यानो स्नेहमा हुर्किएका प्रेम सबैको प्रिय थिए । मध्यम वर्गीय परिवारमा जन्मिएका प्रेमले सुमित्रा गिरीसँग विक्रम संवत् २०२७ सालमा विवाह गरे । गाउँ नजिकैबाट उनको विवाह भयो । विक्रम संवत् २०२८ सालमा पहिलो सन्तान, छोरा जन्माए । तर उनी साङ्गीतिक क्षेत्रमा लागेकाले विभिन्न जिल्ला तथा देशमा जानुपर्दा घरपरिवारलाई पर्याप्त समय दिन पाएनन् । १५ वर्षको उमेरमा रङ्गमञ्च प्रवेश गरेका गिरीको घरमा श्रीमती, छोरा बुहारी, नाति— नातिना र पनातिसमेत छन् । प्रेमका ४जना दाजुभाइ छन् भने एउटी बहिनी छिन् । अन्य दाजुभाइले संघसंस्था तथा अन्य क्षेत्रमा रोजगार गरेता पनि साहिँलो भाइ देवराज गिरीले सङ्गीत क्षेत्रलाई नै रोजेका छन् । दाजुको प्रभाव उनमा परेको देखिन्छ । बुवा र आमा भने स्वर्गवास भइसकेका छन् । आमा यो संसारमा नभएता पनि आमाले ‘चरो भोकले कहिल्यै मर्दैन र चाहेको कुरा सबै प्राप्ति हँुदैन’ भनेको कुरा अहिले पनि हिजो जस्तै लाग्छ । बुवाले पनि उनको गीत÷सङ्गीतको यात्रामा धेरै साथ दिएका थिए । आफू सङ्गीत क्षेत्रमा लागेको केही वर्षमै बुवा गुमाउँदाको पीडा प्रेमदेवलाई सही नसक्नु भएको थियो । यो घटनाले प्रेमलाई लामो समयसम्म दुःखी बनाइरह्यो भने परिवारको जिम्मेवारी थपिँदै गयो ।
आफू साङ्गीतिक क्षेत्रमा सफल हुनुको पछाडि गाउँघरमा हुने पूजा, कथा र संस्कारहरु नै रहेको उनी बताउँछन् । अग्रजहरुले गाउँघरमा वर्षमा एकचोटी नाटक देखाउने कार्यबाट उनी निकै प्रभावित हुन पुगे । त्यसबेला उनले रङ्गमञ्चीय भूमिका निभाउने अवसर प्राप्त गरेका थिए । प्रेमका बुवा हरिलाल गिरीले आफ्नो जेठो सन्तान प्रेमदेवलाई अकालबाट बचाउन एक बादी समुदायका युवा विष्णुबहादुर बादीसँग मित लगाई दिएपछि त्यहीँबाट उपहार स्वरूप पाएको मादलबाट प्रेमलाई देशभित्र मात्रै होइन देशबाहिर पनि प्रचलित बनाएको छ । प्रेमदेव गिरी जसरी आफूलाई मादलमा सर्वश्रेष्ठ स्थापित गर्न सफल भएका छन् । त्यसैगरी रङ्गमञ्च र लोकगीत संकलनमा पनि उक्तिकै ख्याति प्राप्त गरेका छन् ।
प्रेमदेवले सङ्गीत साधना गर्दा नेपालमा सांस्कृतिक पक्षको विकास भएको थिएन । साहित्यको क्षेत्रमा नेपाल प्रज्ञा प्रतिष्ठान मात्र थियो । चलचित्र संस्थानले कला क्षेत्रको जगेर्ना गर्ने काम गरिरहेको थियो भने राष्ट्रिय नाचघरले लोककला र संस्कृतिको संरक्षण अभियानमा कटिबद्ध थियो । राष्ट्रिय नाचघरमा सेवा गरिरहँदा प्रेमदेवले नाट्य क्षेत्रका प्रख्यात व्यक्तित्व हरिप्रसाद, भुवन थापा र नारायण गोपालसँग काम गर्ने मौका प्राप्त गरेका थिए । नेपालका कला क्षेत्रका विशिष्ठ व्यक्तित्वसँगको जमघट र सहकार्यले प्रेमलाई अझै हौसला मिल्दै गयो । गायक क्षेत्रका कुमार वस्ती, रेडियो नेपालका नातिकाजी, अम्मर गुरुङलाई अहिले पनि सम्झन्छन् उनी । यस्तै ज्ञानु राणा, कुमार बस्नेत, भुवन चन्द, कविता आले, गणेश रसिक, कमला श्रेष्ठ, हिरण्डे भोजपुरे, साबित्री शाह , प्रवीण गुरुङ, सुन्दर श्रेष्ठ, मधु क्षेत्री, नारायण रायमाझीलगायत थुप्रै कलाकारले उनको संकलनमा स्वर भरिसकेका छन् भने उनीहरूसँग महत्वपूर्ण समय व्यतीत गर्ने मौका गिरीले प्राप्त गरे । उनका गीतहरुले नेपाली परिवेशको झल्को दिन्छ । ‘सरर मलेवा घुम्छ बादलमुनि मयाँलाई, छ्याम्म छ्याम्म’, ‘सुर्खेतमा बुलबुले ताल, गलबन्दीमा रातो धागो’, ‘चाँदी काटी चन्द्रमाला सुनकाटी जन्तर पाटन भए देखिँदो हो लेक प¥यो अन्तर’ लगायतका गीतको मार्मिकता जीवन्त छ ।
अहिले पनि उनले नयाँ—नयाँ लोक भाका रचना गरिरहेका छन् । पछिल्नो समय प्रेमले लय बचाऔं अभियानलाई तीव्र बनाएका छन् । नयाँ पुस्तालाई पुराना भाका सिकाउन ‘झन् पर, झन पर कहाँ जाने मन छ र मया’ लाई बोलको गीत गत वर्ष मात्र बजारमा ल्याएका छन् । उनका नयाँ गीतमा टीका पुन, भीमबहादुर कार्की, गंगा केसी, निरमणि भारती, चन्द्रा राजीलगायत थुप्रै कलाकारले स्वर भरेका छन् । गीत रचनामा मात्रै होइन गिरीले चलचित्रमा पनि उत्तिकै प्रभुत्व जमाएका छन् । उनले गोर्खा पल्टन, बन्धकी, बाटुली, आधीशुर, प्रदेशी भाग–२ आदि लगायतका ८ चलचित्रमा अभिनय गरिसकेका छन् । यसमध्ये बन्धकी र गोर्खा पल्टन चलचित्रमा वाद्यवादक र गीत संकलनकको भूमिकासमेत निभाएका छन् ।
यसैगरी २०३९ सालमा कान्छी चलचित्रको गीत रेकर्डको लागि वादकको रूपमा भारतको कोलकातासमेत पुगेका थिए । विक्रम संवत् २०४२ सालमा भने प्रेम राष्ट्रिय नाचघर छोडेर गृह जिल्ला सुर्खेत फर्किए । एक वर्ष उनले घरायसी काममा समय व्यतीत गरे । राष्ट्रिय नाचघरमा करार सेवा सकिएपछि उनी गृह जिल्ला फर्किएका हुन् । त्यसपछि उनले २०४३ सालमा सिंहदरबार काठमाडौंस्थित रेडियो नेपालमा काम गर्ने अवसर पाए । रेडियो नेपालमा २०४५ सालसम्म निरन्तर कर्म गरे । त्यसपछि रेडियो नेपाल छोडेर २०४६ सालदेखि हालसम्म सुर्खेतलाई नै कर्मथलो बनाएका छन् । सुर्खेत फर्की सकेपछि उनी थुप्रै साङ्गीतिक संस्थाको जन्मदाता बनेका छन् । जुन उनको सङ्गीत क्षेत्रको ठूलो देन हो । देउती बज्यै कला परिवार (२०४२), बागिना समूह (२०५०), उज्ज्वल कला परिवार, लोकदोहोरी प्रतिष्ठानलगायतलाई जीवन्त तुल्याउन गिरीले गरेको योगदान अतुलनीय छ । अहिले पनि गिरीले शिक्षा आर्जन गर्ने ससाना नानीबाबुहरुलाई लोक गीत÷सङ््गीत सिकाउँछन् । विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागिताका लागि उत्प्रेरित गर्ने गर्छन । सामाजिक मूल्य र मान्यतालाई भविष्यका कर्णाधार समक्ष ज्ञानको भण्डार पस्किरहेका छन् । सांस्कृतिक कलामा रमाउँदै जीवन व्यतीत गरिरहेका प्रेमदेवले बालबालिकासँग सङ्गीतमा रमाउँदा आनन्द महसुस गर्ने गर्छन । प्रेमदेव अहिले पनि रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतसँगको साङ्गीतिक कार्यक्रममा सक्रिय रहेको बताउँछन् । उनले गीत÷सङ्गीतका महत्वपूर्ण कार्यक्रममा पुगेर गरिमा बढाउने काम गरिरहेका छन् ।
प्रेमदेव गिरीको अविस्मरणीय क्षण भनेकै १५ वर्षदेखि मादल बोकेर साङ्गीतिक क्षेत्रमा रमाउनु नै हो । यस्तै आफूले सेवा गरेको सांस्कृतिक संस्थानले गृह जिल्लामै भव्य समारोह आयोजना गरी गरेको सम्मानलाई प्रेमदेव गिरीले जीवनको सबैभन्दा खुसीको दिनका रूपमा स्मरण गर्छन । संस्थान छाडेको २० वर्षपछि कामको मूल्याङ्कन गरेर गृह जिल्लामै पुगेर संस्थानले सम्मान गर्ला भनेर उनले सोचेका थिएनन् । यो सम्मानले गिरीलाई अझै उत्साह थप्यो । उनी विभिन्न सामाजिक संघसंस्थामा मानार्थ र सल्लाहकारको भूमिकामा छन् । अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता नलिएको बताउने गिरीले बाँकी जीवन साङ्गीतिक क्षेत्रमा नै बिताउने प्रण गरेका छन् । सरल आनीबानी अनि सहज जीवनशैली भएका कारण उनलाई सम्मान दिने धेरै छन् । दर्जनौं बढी सम्मानले सम्मानित भएता पनि आफूलाई सामान्य व्यक्ति सरह उभ्याउनु प्रेम देव गिरीको अर्को विशेषता हो । उनले बागिना सम्मान २०५४(बागिना समूह सुर्खेत), राष्ट्रिय प्रतिभा पुरस्कार २०५४(नेपाल सरकार), सङ्गीन नाट्य एकेडेमी २०७६(लोक स्रष्टा सम्मान), लाइफ एचिभमेन्ट अवार्ड, अमेरिकामा भएका नेपालीहरुको न्यूयोर्क कला मञ्चद्वारा सम्मान, नेपाल सांस्कृतिक संघको २०७४ सालको सम्मान, नवीन कला मन्दिर र वाद्यवादक कलाकार संघलगायतबाट अनगिन्ती सम्मान प्राप्त गरिसकेका छन् । सुर्खेतवासीले पनि प्रेमदेव गिरीको हौसला बढाउन बेला—बेलामा सम्मान गर्दै आएका छन् ।
गिरीले सांस्कृतिक संस्थानमा सेवारत छँदा नेपाल अधिराज्यभरि पुगेर कला प्रस्तुत गर्ने मौका प्राप्त गरे । यस्तै रुस,भारत, हङकङ र अमेरिकासम्म उनी पुगे । २०६५ सालमा लोकबाजा सङ्ग्रहालय काठमाडौंका तर्फबाट वाद्यवादक टोली लिएर संयुक्त अधिराज्य युकेसमेत पुगे । प्रेम देव गिरी भन्छन्,‘कला संस्कृति भनेको समाजको अभिन्न अङ्ग हो । नेपालमा एकपटक सङ्गीतको युग आउँछ । नेपालमा २००७ सालदेखि २०४० सालसम्म साङ्गीतिक युग जस्तो लाग्छ । जुन आजसम्म पनि जीवन्त छन् । त्यो बेलामा सङ्गीतका गुणहरु धेरै थिए, संख्या कम थिए तर आजभोलि संख्या धेरै छन् गुण कम मात्र रहेका छन् । ’ राज्यले कलाकारलाई दिनु पर्ने उचित सम्मान नदिँदा भने उनलाई दुःख लाग्ने गर्छ । कला संस्कृतिको जगेर्ना गर्न नीतिगत व्यवस्था राम्रो भएता पनि व्यावहारिक पाटो कमजोर भएको उनको तर्क छ
‘जगदम्बा-श्री पुरस्कार मेरो मात्रै होइन, कर्णालीको सम्मान हो’
तपाईंले कला-संस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै मदन पुरस्कार गुठीले जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरेको छ। जगदम्बा-श्री सम्मान पाउँछु भन्ने लागेको थियो?
जगदम्बा-श्री पुरस्कार पाउँछु भन्ने मेरो मनमा कल्पना पनि थिएन। एक्कासि पुरस्कार पाउने थाहा पाएँ, खुशी लाग्यो। जगदम्बा-श्री पुरस्कार कर्णालीले पाउँदै छ, म कर्णालीको एउटा प्रतिनिधि पात्र मात्र हुँ।
मदन पुरस्कार गुठीले निकालेको प्रेस विज्ञप्तिमा हेरें। त्यो हेर्दा एउटा खुशी के लाग्यो भने, २०१२ सालमा संस्थाको स्थापना भएको रहेछ। त्यो वेलामा जगदम्बा-श्री पुरस्कार थिएन, मदन पुरस्कार मात्र थियो। पहिलो मदन पुरस्कार सत्यमोहन जोशीको कृतिले पायो, जुन सत्यमोहनले कर्णाली भ्रमण गरेपछि लेखेको कृति हो।
२०१३ सालमा पहिलो मदन पुरस्कार तीन वटा कृतिलाई दिइएको थियो। त्यसमध्ये एक हो, कर्णालीको लोक संस्कृति। त्यति वेला कर्णालीलाई भेट्न सत्यमोहन काठमाडौंबाट आउनुभयो। अहिले कर्णालीको पाइला अघि बढेको छ। यो पुरस्कार पाउने खबर सुन्दा कस्तो लागेको छ भने, हिजो कर्णालीलाई भेट्न उताबाट आउनुभयो, आज कर्णालीले एउटा पाइला अघि सारेको हो।
यो पुरस्कारसँग स्थापनाकालदेखि कर्णाली जोडिएको छ। मदन पुरस्कार त पाएकै थियो, अब जगदम्बा-श्री पुरस्कार पाउँदा कर्णालीले पूर्णता पाएको छ, संगीतका लागि, सिर्जनाका लागि। यो मेरो मात्रै होइन, कर्णालीको सम्मान हो।
लामो समय कला-संस्कृतिको क्षेत्रमा क्रियाशील भएकाले स्वाभाविक रूपमा यो सम्मानको हकदार हुनुहुन्छ नै। कला क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
कला क्षेत्रमा लाग्ने प्रेरणा समाजबाटै मिलेको हो। गाउँघरमा हुने जात्रा, मेलापर्वहरूमा जान्थें। बाल मनस्थितिलाई कलाले आकर्षित बनायो। विद्यालयमा हुने कार्यक्रम विशेष गरेर नाचगानमा भाग लिन्थें। शिक्षकहरूले पनि ‘तिमीहरूको आज नाचगान हुनुपर्छ’ भन्नुहुन्थ्यो।
हाम्रो सुर्खेतको रंगमञ्चको इतिहास विसं १९९० को दशकबाट शुरू भएको हो। वर्षमा एक पटक दशैंका वेला सांस्कृतिक कार्यक्रम गर्ने परम्परा थियो। त्यति वेला मन्दिरको प्रांगणमा कार्यक्रम गरिन्थ्यो।
त्यसपछि रंगमञ्चका रूपमा गोठीकाँडाको मञ्चमा कार्यक्रम हुन थाल्यो। प्रत्येक वर्ष नियमित कार्यक्रम हुन्थ्यो। २०२५ सालतिर मैले पनि नाटकमा सहभागी हुने अवसर पाएँ। त्यहींबाट मेरो रंगमञ्चको यात्रा शुरू भयो।
कला क्षेत्रमै जीवन बिताउनुभयो। कहिल्यै अन्य क्षेत्रमा लाग्ने सोच बनाउनुभएन?
मान्छेको कर्मले जता डोर्याउँछ, त्यतै गइँदो रहेछ। भाग्यले, भावीले भन्छन् नि, म त्यो भन्दिनँ। कर्मले डोर्याउँछ।
स्कूल पढ्दादेखि नै सबै साथीहरूसँगै नाचगानमा भाग लिन थालें। स्कूले जीवनदेखि नै कला क्षेत्रमा लागें। पढ्दै जाँदा यतैतिर मन लाग्यो। यही कर्म रोजेको पनि होइन, यही हुन्छु भन्ने पनि थिएन। जब हाइस्कूल सकियो, तब बाटो फाट्यो, यतैतिर लागियो।

२०२९ सालमा सांस्कृतिक कार्यक्रममा भाग लिन काठमाडौं गएँ। प्रतियोगितामा नेपाल प्रथम भइयो। त्यसपछि फर्किएर घर आएको भए फरक हुन्थ्यो होला। त्यसै वेला कस्तो संजोग भयो भने, राष्ट्रिय नाचघरबाट ‘तिमीहरू यहाँ काम गर्न सक्छौ त’ भनेर प्रस्ताव आयो। अब फर्किएर घर आएर पढ्ने कि पाएको जागीर गर्ने दोधार भयो। त्यति वेला पढ्नु भनेको ज्ञान आर्जन गर्नु हो, व्यावहारिक सीप सिक्न नाचघरमा काम गर्न ठीक हुन्छ भन्ने भएपछि जागीरे भइयो।
देशकै प्रतिष्ठत राष्ट्रिय नाचघरमा काम गर्न पाउनु राम्रो अवसर थियो। नाचघरमा काम गर्ने हरेक रंगकर्मीको सपना हुन्थ्यो। नाचघरमा काम गर्ने आफ्नो धोको पनि पूरा भयो। २०२९ सालमा काम शुरू गरें। त्यसैमा रमाएँ। २०४१ सालसम्म राष्ट्रिय नाचघरमै काम गरें।
त्यसपछि २०४३ सालमा रेडियो नेपालमा गएँ। २०४५ सालसम्म रेडियो नेपालमा काम गरें।
नाचघरमा नारायणगोपालसँग पनि काम गर्नुभयो। नारायणगोपालसँगको संगतलाई कसरी सम्झिनुहुन्छ?
नारायणगोपाल मभन्दा सिनियर हुन्, दाजु। २०३५ देखि २०४१ सालसम्म हामी एउटै परिवारमा रहे जस्तै गरी बस्यौं। २०४० सालमा नारायण दाजुले नाचघर छोड्नुभयो।
उहाँ सँगसँगै विदेशका यात्रा पनि भए। हाम्रो अभिभावक हुनुहुन्थ्यो। हामीलाई सम्झाउनुहुन्थ्यो।
नारायण बेग्लै स्वभावको हुनुहुन्थ्यो, आफैंमा रमाउने। धेरै कुरा खुलाउन चाहनुहुन्नथ्यो, अन्तर्मुखी स्वभावको हुनुहुन्थ्यो। केही सोध्ने कुरा पनि भएन।
पछि थाहा भयो, उहाँको अवस्था त साँच्चिकै ‘मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ’ जस्तो रहेछ। जब बित्नुभयो, त्यसपछि उहाँबारेका रहस्यहरू खोलिंदै गएपछि मात्र थाहा भयो। जति वेला नारायणसँग भेटघाट भइरहन्थ्यो, त्यति वेला त पारिवारिक अवस्थाले ‘घर न घाट’ को हुनुहुँदो रहेछ। त्यस्तो पीडा बोकेको मान्छे बाहिर मुस्कुराउनुभएको रहेछ।
त्यति वेला काठमाडौंमा राम्रैसँग काम चलिरहेको थियो। छँदाखाँदाको जागीर छोडेर किन सुर्खेत फर्किनुभयो?
नाचघरमा मेरो करारको जागीर थियो। त्यही जागीरले मात्र न परिवार पाल्न सकिने भयो न त जन्मभूमिमा बस्न पाइने। त्यसैले म जहाँ जन्मिएको हुँ, त्यहाँ कर्म गर्छु भन्ने भयो। करारको जागीरमा बसिरहे भने केही पनि नहुने देखियो। सुर्खेतमा रेडियो नेपाल थियो। त्यसैले जन्मभूमिमै केही गर्ने अठोट लिएर फर्किएको हुँ।
सुर्खेत फर्केपछि धेरै लोकभाका तथा लोकगीत संकलन गर्नुभएको छ। लोकभाका र लोकगीत संकलनतिर कसरी लाग्नुभयो?
मलाई पहिलेदेखि नै लोकभाका साह्रै मन पर्थ्यो। यस क्षेत्रमा बजाउनेले बजायो, गाउनेले गायो, नाच्नेले नाच्यो, सकियो। मेरा एउटा बानी छ, गीतका भाकाहरू कापीमा टिपेर राख्ने, अद्यावधिक गर्ने। यसरी संकलन गरेका गीत २०३१ सालदेखि वर्षमा एक-दुई वटा भए पनि रेकर्ड गर्न थालें। यस क्षेत्रमा प्रचलित झ्याउरे ख्याली, सोरठी, सिंगारु भाका रेकर्ड गरें।
त्यति वेला सुर्खेतमा रेकर्डिङको सुविधा थिएन, अहिले पनि छैन। व्यावसायिक हिसाबले गएको भए फरक हुन्थ्यो। विशुद्ध सामाजिक सम्पत्तिलाई संरक्षण गरेर अघि बढ्नुपर्छ भन्ने भावनाले काम गरें।

यस क्रममा मैले संकलन गरेका करीब डेढ सय लोकभाका छन्। यसमा सय वटा गीत सुर्खेतकै सन्दर्भ तथा सेरोफेरोका छन्। संख्या थोरै भए पनि जति संकलन गरें, ती सय वर्षका चिनारी हुन्। यस भेगको एक शताब्दीको चिनारी दिने लय-भाका संकलन गरेको छु।
संकलन गरेकामध्ये तपाईंलाई सबैभन्दा बढी मन परेको भाका कुन हो?
आफ्ना सबै सन्तानको माया बराबर हुँदो रहेछ। मलाई सबै मन पर्छन्। ख्याली दिए पनि मेरै हो, झ्याउरे दिए पनि मेरै हो। यसमा कुन सन्तान राम्रो-नराम्रो छुट्याउन गाह्रो हुँदो रहेछ।
आफ्नो भाषा अझ बढी प्यारो हुँदो रहेछ। सिंगारु र देउडा कर्णालीका मुख्य पहिचान हुन्। अझ सिंगारु गीत अन्यत्र छैन। यसमा जुन बाजा बज्छ, त्यो आफ्नै प्रकारको छ, यहींको परिवेशमा आधारित छ।
मेरा धेरैजसो गीत स्थानविशेषका छन्। यसमा सुर्खेतको बुलबुले तालसँग सम्बिन्धित धेरै छन्।
लोकगीत पनि छन्। ती सबै जाति, भाषा, समुदायलाई जोड्ने आफ्नै परिवेशमा आधारित छन्। तैपनि सबैभन्दा चर्चित ‘सललल मलेवा’ छ।
सललल मलेवा
घुम्छ बादल मुनि माया लै।
झट्ट नजर आँखीमा
माया कले देला माया लै।
यो गीत मैले २०३२ सालतिर रेकर्ड गराएको थिएँ। पछि आएर देउडा गीत तथा विभिन्न भाषाका गीत पनि रेडियोमा प्रसारण हुन्थे। विशेष गरेर ‘छ्याम्म छ्याम्म,’ ‘सिन्की गाजलु’ जस्ता लयले कर्णालीलाई चिनाउँछन्।
त्यसैगरी ‘जाऊ माया बुलबुले, बुलबुलेमा क्या राम्रो फूल फुले’ जस्ता ठाउँविशेषका गीतले सुर्खेतको भेगलाई प्रतिनिधित्व गर्छन्। त्यसैले यही गीत मात्र भन्ने छैन। मैले संकलन गरेका गीतमध्ये सिंगारु र देउडा विशेष छन्।
शुरूआतमा मादल बजाउनुहुन्थ्यो। पछि अरूतिर पनि लाग्नुभयो है?
२०२५ सालमा रंगमञ्चमा टेक्दा मादल बजाउनु त छँदै थियो, अभिनयको पनि पाटो समाएको थिएँ। मलाई अहिले पनि राम्रो याद छ, सुर्खेतको रंगमञ्चमा भाइको रोलमा अभिनय गरेको थिएँ।
उति वेला सुर्खेतमा नाच हेर्न महिला आउँदैनथे। केटा र केटीबीचको नाचमा केटी हुँदैनथे। छोरीलाई घर बाहिर नपठाउने चलन थियो।
२०३० सालको दशकमा सांस्कृतिक प्रतियोगितामा भाग लिन काठमाडौं जाँदा सुर्खेतमा महिला पाएनौं। पछि जुम्लाबाट सुर्खेतमा बसाइ सरेकी एक जना विमला गन्धर्व बहिनी थिइन्, उनलाई लिएर काठमाडौं गयौं।
केटाकेटी नाचे भने समाजले संकीर्ण रूपमा हेर्ने गर्थ्यो। त्यसकारण म आफैं मारुनी भएर नाच्न थालें। बजाउनु त पहिलेदेखि नै थियो, नाटकमा अभिनय पनि गर्थें, यसरी पछि नाच्न पनि थालें। त्यसैले नाचघरमा छँदा हिमालदेखि तराईसम्मका नाचहरूमा भाग लिएँ।
तीनै विधामा पारंगत हुनुभयो। यो कसरी सम्भव भयो?
शुरूदेखि मलाई यस्तै जिम्मेवारी आइलाग्यो। नाचघरमा हुँदा करारको जागीर हो। सबै कुरामा पोख्त भएपछि सजिलो हुन्छ भन्ने थियो।
करारको जागीरमा एउटा पक्ष मात्र भयो भने निकाल्न सक्छन् भन्ने चर्चा हुन्थ्यो। सबै कुरा जान्यो भने त राख्छन् भन्ने मनमा परेको थियो। त्यसैले नाच, गीत, संगीत, अभिनय, बजाउने सबै सिक्न अग्रसर भइरहें। काम गर्दागर्दै सबै क्षेत्रमा दक्षता हासिल गरें।

कला, संस्कृतिका क्षेत्रमा आउने नयाँ पुस्तालाई केही सुझाव छन्?
जे काम गर्ने हो, त्यसमा समर्पण हुनुपर्छ। इमानदार हुनुपर्छ र त्यसप्रति जिम्मेवार बन्नुपर्छ। जे काम गर्नु छ, त्यो ठाउँको माटोको टीका लगाएर अघि बढ्नुपर्छ। जन्मभूमिको माटोको टीका लगाउनुपर्छ। त्यो भनेको कामप्रति समर्पण गरेर अगाडि बढ्नुपर्छ।
अहिलेको पुस्ता देशमा केही भएन भन्ने गुनासो गर्छ। तपाईं त पञ्चायतदेखि गणतन्त्रसम्म देशका विभिन्न क्षेत्र घुम्नुभएको छ। केही परिवर्तन भए जस्तो लाग्छ?
युग परिवर्तनशील छ, संस्कृति पनि परिवर्तनशील हुनुपर्छ। सबै कुरा चलायमान हुन्छन्। कोही छिटो होला, कोही ढिलो होला, तर सबै चिज चलायमान छन्।
व्यवस्था परिवर्तन हुनुपर्थ्यो, भएको छ, ठीक भयो। तर एउटै के हो भने, हतारले काँचै रह्यो भन्ने हो कि ढिलो गर्दा डढ्यो भन्ने हो? म त्यहींनिर छुट्याउन सकिरहेको छैन। लोकतन्त्र हतारले काँचै रह्यो भन्ने कि गणतन्त्रमा ढिला भएर डढ्यो! जे होस्, परिवर्तन हुनुपर्छ।
अर्को, सरकारको काम नीतिनियम बनाउने, पालना गराउने हो। अहिले तीन तहका सरकार छन्। एउटा दुर्भाग्य के छ भने, सैद्धान्तिक कुरामा स्वर्गको नियम बनाउने कार्यान्वयनमा केही पनि छैन। तीन तहमा पनि एकरूपता भएन। सिद्धान्त एउटा, व्यवहार अर्कै भयो, तालमेल मिलेन। सबैभन्दा महत्त्वपूर्ण के हो भने, जुनसुकै नीति पनि व्यावहारिक हुनुपर्छ।
अन्त्यमा, आगामी योजनाहरू के छन्?
अबको यात्रा धेरै केही छैन। अहिलेसम्म म देशका सबै ठाउँमा घुमें। संकलक भएका नाताले मसँग केही संकलन छन्। त्यो भएर १९९० सालयताका सबै रंगमञ्च, कलाकार, तत्कालीन रंगकर्मी लगायत विषयमा संकलन गरेका सबै कुरालाई दस्तावेज बनाउँछु। अर्को, पुराना लोकभाका तथा सुर्खेतको रंगमञ्चको दस्तावेज बनाउने हो।
*लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान पुर्याएका जगदम्बाश्री सम्मानबाट सम्मानित प्रेमदेव गिरीसँग हिमालखबरका लागि लक्ष्मी भण्डारीले गरेको कुराकानी हिमाल खबरबाट साभार गरिएकाे हाे।

