काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा जाने क्रममा देउवा सार्वजनिक भएका हुन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु केन्द्रीय कार्यसमिति बैठकलाई सुरुमै सम्बोधन गरेका देउवाले जेनजी शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
‘भाद्र २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु । दु:खद यस घडीमा शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइते भएका सबैमा स्वास्थ्य लाभको कामना गर्दछु,’ देउवाले भने ।बैठकलाई सम्बोधन गर्दै देउवाले २१ फागुनका लागि घोषित निर्वाचनका लागि भयरहित वातावरण नबनेको बताएका छन्।मुलुकमा शान्ति सुरक्षाको ग्यारेन्टी नभएको बताएका हुन्।
‘सरकारले २१ फागुनका लागि निर्वाचनको मिति घोषणा गरेको छ। तर, स्वतन्त्र र निष्पक्ष र भयरहित वातावरण बन्न सकेको छैन,’ देउवाले भने, ‘निर्वाचनको लागि आवश्यक वातावरण बनाउन सके मात्र निर्वाचनमा सबै सहभागी हुने अवस्था बन्छ। यसतर्फ सरकारको ध्यान जाओस्।’

