सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्गठनको प्यानल नै विजयी भएको छ । अध्यक्षमा नेविसंघका विवेक खड्का नेतृवको प्यानल नै विजयी भएको हो ।
सोमबार भएको मतदानबाट नेकपा (एमाले) निकट अनेरास्ववियुका जगतजंग शाहीलाई पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित हुनुभएको हो । सार्वजनिक नतिजा अनुसार खड्काले ११ सय ८७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी शाहीले नौ सय सात मत प्राप्त गरेकाछन् ।

अध्यक्षका अन्य प्रत्यासीहरु प्रकाश विकले दुई सय ७५ र मिलन बिसीले दुई सय ३१ मत प्राप्त गरेकाछन् । कुल चार हजार तीन सय ८३ मतदातामध्ये दुई हजार आठ सय ६४ जनाले मतदान गरेका थिए ।
स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव, कोषाध्यक्ष गरी तीन र बाँकी सदस्य गरी १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

मध्यपश्चिम विश्वविद्यालयमा चार हजार तीन सय ८३ मतदाता छन् । ८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि एमयूको स्ववियु नेतृत्वविहीन छ । २०७३ भदौमा सम्पन्न पहिलो निर्वाचनबाट कांग्रेसनिकट नेविसंघका झक्कबहादुर शाही स्ववियु अध्यक्षमा निर्वाचित भएका थिए ।

तिलाकर्णाली क्याम्पसमा दोस्रो पटक सिंह विजयी

कालीकोटको तिलाकर्णाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अखिल क्रान्तिकारी हिक्मत सिंह विजयीभएकाछन् ।
अध्यक्ष पदमा विजयी सिंहले ७२ मतसहित विजयी हुँदा उनका प्रत्यासी दिपा शाहीको समूहका सचिव पदका उम्मेदवार खगेन्द्र पाण्डेले ७१ मत ल्याएर निर्वाचित भएकाछन् । शाहीले भने ५७ मत प्राप्त गर्रकीछन् । अध्यक्षमा निर्वाचित सिंह समूहका सचिव पदका उम्मेदवार उमेश शाहीले ५७ मत प्राप्त गरेकाछन् ।
कोषाध्यक्षमा सिंह समूहका मिना शाहीले ६३ मत प्राप्त गरे विजयी हुदा शाही समूहका दुर्गबहादुर शाहीले ६२ मत प्राप्त गरेकाछन् । कोषाध्यक्षमा जम्मा एक मतको मात्र अन्तर परेको छ ।
तिलाकर्णाली बहुमुखी क्याम्पसमा सिहं दोस्रो कार्यकालका लागि अध्यक्षतमा निर्वाचित भएकाहुन् । यस अघि पनि सिंह अनेरास्ववियुसँगको तालमेलमा अध्यक्षमा निर्वाचित भएका थिए । यो पटक भने सिंहको संयुक्त गठबन्धन रहेको थियो । क्रान्तिकारीले राप्रपा, नेकपा (एकीकृत समाजवादी) पार्टी र नेमकिपा निकटका विद्यार्थी सङ्गठनसँग तालमेल गरेको थियो ।
यता अनेरास्ववियु र नेविसङ्घको गठबन्धनमा अनेरास्ववियुका शाही अध्यक्षका उम्मेदवार दिपाको समूहबाट सचिव पदमा खगेन्द्र पाण्डे भने निर्वाचित भएकाछन् ।
रारा क्याम्पसको स्ववियु सभापतिमा जयलक्ष्मी विजयी

मुगुकाे रारा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी सङ्घकी जयलक्ष्मी रावल भाम निर्वाचित भएकीछन् । चैत १८ गते सम्पन्न निर्वाचनबाट ७३ मत प्राप्त गरी जयलक्ष्मी सभापतिमा निर्वाचित भएकी हुन् ।
अखिल क्रान्तिकारीबाट सचिवमा औसरा बुढा, कोषाध्यक्षमा नेपाल विद्यार्थी सङ्घकी पञ्चमा सेजुवाल विजयी भएकी छन्।
यस्तै अखिल क्रान्तिकारीका मनोज शाहीले ६७ मत र अनेरास्ववियुका रेखा कार्कीले ६३ मत प्राप्त गरेको निर्वाचन अधिकृत लाल केशर रोकायाले जानकारी दिए।
निर्वाचन अधिकृत रोकायाका अनुसार समानुपातिक तर्फ अखिल क्रान्तिकारीले ९ मत,अनेरास्ववियुले ६५ मत, नेविसंघले ५८ मत र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले ६ मत प्राप्त गरेका छन् भने ७ मत बदर भएका छन् ।

