जाजरकोट । भूकम्पले क्षतिग्रस्त बनाएका जाजरकोटको भौतिक संरचनाको क्षतिको लगत सङ्कलन सुरु गर्न लागिएको छ । शुक्रबारको भूकम्पले जिल्लामा पूर्ण तथा आंशिक गरी करिब तीन हजार पाँच सय घरमा क्षति गरेको प्रारम्भिक अनुमान गरिएता पनि यो सङ्ख्या अझ बढ्न सक्ने सम्भावना उत्तिकै हुँदा ठुला पराकम्पन गएपछि जाजरकोटवासी थप त्रसित बनेका छन् ।
शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर दुई वटा ठुला पराकम्पन गएका छन् । ६.४ रेक्टर स्केलको भूकम्प गएपछि सोमबार अपराह्न ४:३१ मा बारेकोट नै केन्द्रबिन्दु रहेको ५.८ रेक्टरको पराकम्पन गएको हो ।
त्यसलगत्तै ४:४० मा ४.५ रेक्टर स्केलको अर्को पराकम्पन गएको थियो । परकम्पले शुक्रबार चर्किएर भत्किन लागेका घर भत्किएका छन् ।
भूकम्पबाट मृत्यु भएकाको शव व्यवस्थापन तथा घाइतेको उद्धार गर्न लागिएको र त्यसपछि राहत वितरणमा लागिएको हुँदा क्षतिको प्रारम्भिक सङ्कलन मात्रै गरिएकाले यकिन गर्न अझै समय लाग्ने जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी हरिशचन्द्र शर्माले जानकारी दिए ।
सूचना अधिकारी शर्माले जिल्लामा आएका राहत सबै सोमबारसम्म वितरण गरिसकिएको जानकारी दिए ।उनले छ हजार थान ब्ल्याङ्केट, सात हजार थान त्रिपाल, दुई हजार पाँच सय बोरा चामल, छ सय थान म्याट, चार मेट्रिक टन पोषिलो बिस्कुट सबै वितरण गरिसकिएको बताए । एकद्वार प्रणालीबाट राहत सङ्कलन भएकाले प्रभावित पालिकामा पनि प्राथमिकताका आधारमा पठाइएको उनको भनाइ छ ।
सूचना अधिकारी शर्माले जाजरकोटमा आए जति सबै राहत भूकम्प प्रभावितलाई वितरण गरिसकिएको छ । सरकार तथा विभिन्न सहयोगी निकायले दिएका त्रिपाल, म्याट, कम्बललगायतका सामग्री सबै वितरण गरिसकेको बताएकाछन् ।
पराकम्पन नआउँदै जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितलाई राहत वितरण र लगत सङ्कलनमा सरकारले तीव्रता बढाएको छ । राहत वितरणमा सरकारी संयन्त्र पूर्ण रूपमा सक्रिय भएर लागेको छ ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको टोली भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुमपश्चिममा आफैँ खटिएर प्रभावितलाई राहत वितरणमा अग्रसर रहेकाछन् । रक्षामन्त्री खड्का भूकम्प आएको दिन गत शुक्रबारदेखि नै घाइतेको उद्धार तथा राहत व्यवस्थापनमा सक्रिय छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि आफैँ खटिएर उद्धार र राहतको काम गरेका थिए । उपप्रधानमन्त्री खड्कासहितको टोलीले सोमबार भूकम्पको केन्द्रबिन्दु जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा, बढी प्रभावित मानिएको भेरी नगरपालिका–१ को रावत गाउँ, रुकुमपश्चिमको आठबिसकोट नगरपालिका पनि पुगेर राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।
साथै प्रभावितलाई राहतमा कुनै कमी हुन नदिने आश्वासन दिइएको छ । बारेकोटका बासिन्दालाई उनले उद्धार सकिएकाले अब सरकारले आफ्नो पूर्ण शक्ति राहत वितरण र पुनर्निर्माणमा लगाउने बताए । सरकारले राहत वितरणको कार्य सुरु गरिसकेको जानकारी दिँदै उनले राहत सामग्री पालिकालाई जिम्मा लगाउने र वडामार्फत वितरण गर्ने बताए । उनले भने, “यस दुःखद अवस्थामा सबैले मिलेर राहत वितरण र अनुगमनमा सहयोग गर्नु पर्छ ।”
उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बारेकोट गाउँपालिकामा दुई हजार पाँच सय परिवार घरमा बस्न नसक्ने अवस्थामा भएको तथ्याङ्क आफूले पाएको भन्दै प्राथमिकतासाथ राहत वितरण हुने बताए। उनले केही राहत सामग्री आइसकेको र थप राहत सामग्री आउने क्रममा रहेको हुँदा वडाध्यक्ष, वडा सदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइने प्रतिबद्धता व्यक्त समेत गरे ।
सरकारले राहत सामग्रीलाई गाडी जाने स्थानमा गाडीबाट र गाडी नजाने ठाउँमा हेलिकोप्टरबाट पठाएको छ । भूकम्पको केन्द्रबिन्दु मानिएको बारेकोटमा दुई हजार पाँच सय परिवारलाई पुग्ने गरी राहत पठाइएको छ ।
									 
					
