Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

व्यङ्ग्य र कर्तव्यबोधयुक्त इरान राईको कृति

By आयो रैबार संवाददाता२५ बैशाख २०७८, शनिबार ०४:०७
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

निस्कर्ष
प्रस्तुत कृतिको निस्कर्षका लागि बेग्लै मिहिनेत गर्नुपर्ने आवश्यकता छैन । स्वयम् लेखकले “लेखकको शब्दचित्र” शीर्षकको लेखकीयमा जुन विचार व्यक्त गरेका छन्, त्यसैलाई निस्कर्षको रूपमा पर्याप्त सामग्री दिन्छ । ती लेखकीय स्वीकारोक्ति यस्ता छन् :

० “साहित्य मेरो सोख होइन, जीवनको दृष्टि र दृष्टिकोण हो ।”

० “व्यङ्ग्य अरूप्रतिको आक्रामक वाण होइन, आफैभित्रका विकार विरुद्ध शुद्धीकरणको अविरल शाब्दिक अभियान हो ।”

० यी व्यङ्ग्यनिबन्धमा खिपिएका शब्द र अभिव्यक्त बाङ्गा विचार कोही खास व्यक्ति वा संस्थाप्रति तेस्र्याइएका तारबार होइनन्, बरु फट्याङ्ग्राजस्ता अल्छे र परनिर्भर प्रवृत्ति विरुद्ध श्रम, सिप, सिर्जना र सामाजिक एकताको प्रतीक कमिलाले झैँ निर्माण गरिएका सकारात्मक र संस्कार्य आस्थाका दरबार हुन् ।”

निस्कर्षमा राईको निबन्ध कुनै व्यक्ति वा संस्थाप्रति एकोहोरो, दुराग्रही आलोचना छैनन्, बरु सामाजिक कर्तव्यबोध र उत्तरदायित्वलाई हेक्का राखेर सामाजिक परिवर्तनको पक्षमा रचिएका छन् ।

प्रष्टीकरण
यस व्यङ्ग्यनिबन्ध सङ्ग्रहका पन्ध्र वटा निबन्धको अलग अलग विवेचना गर्दा प्रस्तुत समालोचनाको आकार ठुलो हुन जाने प्रष्टै छ । त्यसका साथै यस कृतिका कलापक्ष, प्राविधिक पक्ष र विचारपक्षको बेग्लाबेग्लै विवेचना गर्न सकिन्छ । एवम् प्रकारले कृतिका कमजोरीको पनि यथासम्भव चर्चा गर्नुपर्ने हुन्छ । यी सबैले यस आलेखको आकार बढाउने छन् । त्यसकारण त्यस प्रकारको खतरा नमोलिकन सङ्क्षिप्तमा विषयवस्तुको चर्चा गरिएको छ । त्यसो गर्दा पन्ध्र वटा निबन्धकृतिको विषयवस्तुलाई स्पर्श मात्र गरिएको छ ।

नामसित जोडिएको रोचकता
इरान राईको व्यङ्ग्यनिबन्ध सङ्ग्रह “कट्टु” को बारेमा केही लेख्नुभन्दा अगाडि उनको नामसम्बन्धी रोचक प्रसङ्ग प्रस्तुत गर्नु सान्दर्भिक हुने छ ।

राईले पुस्तकमा आफ्नो नाम राखेका छन्– “ईरानराई” । प्रस्तुत शब्दमा पदयोग–पदवियोगसम्बन्धी कमजोरी छ । भाषा–व्याकरणसम्बन्धी पछिल्लो मानकले नाममा पदयोग–पदवियोगको बारेमा खुकुलो प्रावधान स्वीकारेको छ । यहाँ पदयोग–पदवियोगको सम्बन्ध प्रथम र बिचको शब्दसित छ । तर थर बुझाउने शब्दको बारेमा कुनै विवाद छैन; जस्तै– “इरानकुमार राई” वा “इरान कुमार राई”—यी दुईमध्ये कुनै पनि विकल्प अपनाउन सकिन्छ । यता, थरसित सम्बन्धित शब्द भने प्रथम र बिचको शब्दभन्दा अलग्गै लेख्नुपर्दछ अर्थात् “इरानकुमार राई” वा “इरान कुमार राई” । यद्यपि कतिपयले थर लेख्ने गर्दैनन्; उदाहरणका लागि “इरान कुमार” वा “पुष्पलाल” ।

भाषा–व्याकरणसम्बन्धी पदयोग–पदवियोगको उपर्युक्त पछिल्लो सामान्य नियमका विपरीत इरान राईले आफ्नो नाम लेख्ने गरेका छन्– “ईरानराई” । त्यसका पछाडि उनको गज्जबको तर्क छ– “ईरानराई” लाई अगाडि वा पछाडि जताबाट पढे पनि हुन्छ । यसरी लेखक राईले आफ्नो नामसम्बन्धी प्रसङ्गलाई पनि रोचकतामै चुर्लुम्ब डुबाएका छन् ।

श्रष्टा परिचय
लेखक राईको पछिल्लो कृतिमा दिइएको जानकारीलाई आधार बनाउँदा उनी मूल रूपमा नाटककार हुन् कि जस्तो लाग्दछ† किनकि, उनका अनुसार हालसम्म उनको “धुम्रपान”, “गरिबको पनि पालो आउँछ”, “गरिबको आँसु”, “रगत”, “हत्या”, “षड्यन्त्रको हुरी”, “नाता” र “नाटक” शीर्षकका नाटक मञ्चन भइसकेका छन् । त्यसैगरी उनले विभिन्न सडक नाटक, एकाङ्की तथा बालनाटकको लेखन, निर्देशन र अभिनय पनि गरिसकेको जानकारी दिएका छन् ।

एवम् प्रकारले उनका “नयाँयुगको खोजीमा” र “झन्डाकविता” शीर्षकको कविता सङ्ग्रह प्रकाशित भएका छन् । यहाँ पनि उनले रोचक प्रयोग गरेका छन्, “झन्डाकविता” कृतिलाई “झन्डाकविता सङ्ग्रह” को नाम दिएर, जबकि “झन्डाकविता” जस्तो पृथक विधा नेपाली साहित्यमा छैन । यो पनि व्यङ्ग्य नै होजस्तो लाग्दछ ।

त्यस्तै, उनको “शप्तकोशीको किनारबाट” गजल सङ्ग्रह प्रकाशित छ । उनको “जिउँदो लास”, “सङ्कटकाल”, “दहीचिउरे” र “लिम्पियाधुरा” शीर्षकमा हाइकु सङ्ग्रह प्रकाशित भइसकेका छन् । त्यसका अतिरिक्त उनले “सुस्केरा” शीर्षकमा “संयुक्त साहित्य सङ्ग्रह” र “छायाको चित्र” शीर्षकमा “बेलबारीबारे प्रश्नोत्तरी” पुस्तक प्रकाशन गरेका छन् । यहाँनेर उनले “सुस्केरा” कृतिलाई “संयुक्त साहित्य सङ्ग्रह” बताएका छन् । तर त्यो कृति मूलतः कुन विधाको साहित्य हो ? पुस्तक नपढिकन किटानी हुने छैन ।

लेखक राईले यसभन्दा अगाडि “पुरानो काग” शीर्षकमा व्यङ्ग्य हाइकु सङ्ग्रह प्रकाशित गरिसकेका छन् । सम्भवतः यो कृति मूलतः हाइकु सङ्ग्रह नै भएको देखिन्छ ।

लेखक राईका कृति २०४७ सालदेखि प्रकाशित हुन थालेको पाइन्छ । तर उनले आफ्नो लेखनारम्भ २०४२ सालदेखि नै भएको बताएका छन् । यसरी गत ३० वर्षमा लेखक राई साहित्यकार र कलाकारको रूपमा देखा पर्दछन् । त्यसध्ये पनि मूलतः सामाजिक विकृतिप्रति व्यङ्ग्य नै उनको आधारभूत साहित्यिक विधा हो भन्न हिच्किचाउनुपर्ने छैन ।

कृति विवेचना
दोस्रो व्यङ्ग्यकृतिको रूपमा राईको “कट्टु” व्यङ्ग्यनिबन्ध सङ्ग्रहमा पन्ध्र वटा निबन्ध सामेल छन् । सर्वप्रथम त त्यसको स्पर्श मात्रको परिचय प्रस्तुत गरौँ ।

१. “अ, आलोचना”– यो निबन्ध बढीमा माध्यमिक तहका विद्यार्थीको मनोविज्ञानसित सम्बन्धित छ । यसमा उनले बेग्लाबेग्लै मनोवृत्ति र चरित्रयुक्त छ वटा विद्यार्थीको चित्रण गरेका छन् ।

२. “अविज्ञापन”– यसमा लेखकले नाफालाई केन्द्रमा राखेर आफ्ना वस्तु तथा सेवाको नियोजित रूपमा विज्ञापन दिने प्रवृत्तिप्रति व्यङ्ग्य गरेका छन् । यसमा उनले स्वास्थ्य क्लिनिक, निजी विद्यालय, सङ्गीत प्रशिक्षण केन्द्र र वन संरक्षणसित सम्बन्धित प्रायोजित विज्ञापनको प्रसङ्ग उठाएका छन् ।

३. “गरिबी”– यस निबन्धमा लेखकले गरिबीको नाममा मानिसमा विद्यमान दरिद्र मानसिकताको चित्र उतारेका छन् । यहाँ उनको व्यङ्ग्यको निसाना भौतिक गरिबी होइन, मानसिक गरिबीतर्फ छ ।

४. “गुट–उपगुट”– प्रस्तुत निबन्धको शीर्षकबाटै प्रष्ट हुन्छ, उनले अहिलेका राजनीतिक पार्टीमा विद्यमान गुटगत प्रवृत्तिप्रति व्यङ्ग्य गरेका छन् । राजनीतिक पार्टीले सिद्धान्त, राजनीतिभन्दा पनि निहित स्वार्थमाथि आधारित रहेर गुट–उपगुटलाई संस्थागत रूप प्रदान गर्ने प्रवृत्तिमाथि उनले प्रहार गरेका छन् ।

५. “कट्टु”– यो निबन्धमा झन्डाको कट्टु सिलाएर लगाउने सिद्धान्तहीन प्रवृत्तिप्रति तीव्र प्रहार गरिएको छ । त्यसैगरी विपन्नवर्गका मानिसले कट्टु लगाउने स्थिति नरहेको बताउँदै भनिएको छ– “श्रमजीवीहरू स्वर्ग जान उति मन पराउँदैनन् ।” एवम् प्रकारले त्यहाँ कट्टुका विभिन्न वर्गीकरणद्वारा विकृति–विसङ्गतिप्रति व्यङ्ग्य गरिको छ । त्यस्तै, “कट्टु” को प्रसङ्गमा “अकट्टुधारी” अर्थात् लाजसरम नमान्ने निर्लज्ज प्रवृत्तितर्फ समेत व्यङ्ग्य गरिएको छ ।

६. “परी–योजना”– यस निबन्ध परियोजनाको बारेमा छ । तर लेखकले यहाँ वक्रता सृजना गरेका छन् । “परी–योजना” लाई उनले दुई भागमा विभक्त गरेका छन्– “परी” अर्थात् सुन्दरी† “योजना” अर्थात् योजना । यस अर्थमा धन र सुन्दरीका लागि सञ्चालन गरिने परियोजनालाई उनले वक्रतास्वरूप “परी–योजना” को नाम दिएका छन् ।

७. “सभासद”– यो निबन्ध सभासद अर्थात् सांसदसित सम्बन्धित छ । सांसद पद पाउनका लागि जेसुकै गर्ने प्रवृत्तिप्रति व्यङ्ग्य गरेर यो निबन्ध लेखिएको छ । खालि संविधान सभाद्वारा संविधान बनाउन असफल भएकोतर्फ व्यङ्ग्य गरेर लेखिएकाले यस निबन्धको शीर्षक “सभासद” रहेको होला, अन्यथा यसको शीर्षक “सांसद” पनि रहन सक्थ्यो ।

८. “समाज–मेवा”– शीर्षकबाट नै यस निबन्धको विषयवस्तु समाजसेवाप्रति व्यङ्ग्य हो भन्ने बुझ्न सकिन्छ । वास्तवमा यस निबन्धको शीर्षकलाई समाजसेवा शब्दबाट नियोजित अप्रभंश गरेर “समाज–मेवा” बनाइएको छ । समाजसेवाको नाममा “मेवा” प्राप्त गर्ने प्रवृत्तितर्फ यसमा व्यङ्ग्य गरिएको छ ।

९. “शब्दमोह”– वास्तवमा यो निबन्ध शब्दमोहभन्दा पनि एक प्रकारले विलासी प्रवृत्तिप्रतिको व्यङ्ग्यद्वारा भरिपूर्ण छ । अझै मूर्त रूपमा भन्नुपर्दा यो निबन्ध उपभोक्तावादउन्मुख प्रवृत्तिको आलोचना हो । सुरुमा सामान्य, स्वाभाविक रूपले उपभोक्तावादी मनोवृत्ति भए पनि पछि मानिसको विलासी मनोवृत्तिमा रूपान्तरण हुँदा जुन खालको उपभोक्तावादतर्फ उन्मुख प्रवृत्ति देखिन्छ, त्यस प्रवृत्तितर्फ निबन्धमा व्यङ्ग्य गरिएको छ । तर यस्तो खालको प्रवृत्ति विशुद्ध लैङ्गिक हुन्न भन्ने प्रष्टै छ ।

१०. “सुतुवा”– यो निबन्ध अल्छे प्रवृत्तिको व्यङ्ग्यस्वरूप रचना भएको छ । सृजनात्मक अथवा रचनात्मक क्षमताभन्दा झाराटराइ प्रवृत्तिका साथ काम गर्ने प्रवृत्तिको आलोचना यो निबन्धको विषयवस्तु हो । अझै यस्तो प्रवृत्तिको कर्ता मन्त्री नै बनाइएपछि देशको उन्नति, प्रगति के हुन्छ भन्ने चिन्ता पनि यो निबन्धमा अनुभूत गर्न सकिन्छ ।

११. “ठेक्का”– ठेक्का हाम्रो समाजमा बद्नाम पेसा हो । नाफालाई केन्द्रमा राखेर सञ्चालन हुने भएकाले ठेक्कामा अनियमितताको सम्भावना प्रबल हुन्छ । त्यसमाथि जब ठेकेदारले सामाजिक दायित्व र कर्तव्यलाई भन्दा मुनाफालाई केन्द्रमा राखेर काम गर्छ, तब ठेक्कापेसा बद्नाम हुने नै भयो । यो निबन्धमा पनि “अ” श्रेणीको ठेकेदारको प्रतीक उभ्याएर सशक्त व्यङ्ग्य गरिएको छ ।

१२. “वैचारिक स्थानहरू”– “वैचारिक स्थानहरू” भनिए पनि यस निबन्धको सही शीर्षक हुनुपर्दथ्यो– ‘विचार व्यक्त गर्ने अनुपयुक्त स्थान’ । तर यो व्यङ्गात्मक निबन्ध भएकाले बेग्लै शीर्षक राखिएको छ । कतिपय व्यक्तिमा ठाउँ, परिवेश, प्रकृति, पात्र र समयको मूल्याङ्कन नगरिकन जहाँकतै व्याख्यान दिइहाल्ने जुन प्रवृत्ति हुन्छ, यस निबन्धमा त्यस्तो प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ ।

१३. “मेरो पत्रकारिता”– पत्रकारिता क्षेत्रमा देखिने विकृतिप्रति व्यङ्ग्य गर्दै यो निबन्धको रचना भएको छ । सामाजिक विकृतिको आलोचना गर्दै समाजलाई विधिप्रक्रियानुरूप सञ्चालन गर्न खबरदारी गर्नु पत्रकारिताको धर्म हो । तर द्रव्य प्राप्त गर्ने र पत्रकारको रूपमा नाताकुटुम्बको उपयोग गर्ने नियतबाट सञ्चालन गरियो भने पत्रकारितामा विकृति आउँछ । यस निबन्धमा श्रद्धाञ्जली, बधाई, परिचय, पात्रो, भाडा (बहाल) जस्ता प्रवर्गमार्फत पत्रकारितामा विद्यमान विकृतिको चिरफार गरिएको छ ।

१४. “दुखेसाहरू”– प्रस्तुत निबन्धमा निर्जीव पात्रको संवादमार्फत “दुखेसाहरू” पोखिएको छ । वास्तवमा ती “दुखेसाहरू” आलोचना र व्यङ्ग्य नै हुन् । निबन्धमा नगरपालिकाद्वारा घोषणा गरिएको फोहरमा फालिएका बल्ब, मोटरसाइकलमार्फत समाजको आलोचना गरिएको छ । निबन्धले साधनका प्रयोगकर्ता मान्छेलाई व्यङ्ग्यमार्फत सचेत गराउँछ ।

१५. “पालैसान्ती”– यो निबन्ध गाउँपालिका वा नगरपालिकाका उपाध्यक्ष वा उपमेयरको भूमिकाप्रति व्यङ्ग्यस्वरूप रचना गरिएको छ । अध्यक्ष वा मेयरमा आफ्ना असफलताको दोष उपाध्यक्ष वा उपमेयरको टाउकोमा थुपार्ने जुन प्रवृत्ति देखिएको छ, त्यसप्रति निबन्धमा व्यङ्ग्य गरिएको छ । हुनुपर्दथ्यो, मेयर वा अध्यक्षको कुशल नेतृत्वमा उपाध्यक्ष वा उपमेयर त्यसको अभिन्न अङ्ग, तर त्यस्तो भइरहेको छैन ।

सबलपक्ष
लेखक राईले पन्ध्र वटा व्यङ्व्यनिबन्धमार्फत सामाजिक विकृति, विसङ्गतिको कडा आलोचना गरेका छन् । उनले निबन्धमा खालि आलोचना वा व्यङ्ग्य मात्र गरेका छैनन्, त्यसको निस्कर्ष वा समाहार पनि दिएका छन् । एकाध निबन्धमा बाहेक सबैजसोमा यस खालको प्रवृत्ति व्यापक रूपमा पाउन सकिन्छ ।

उदाहरणका लागि “सभासद” निबन्धलाई लिऊँ ।

निबन्धको पूर्वाद्र्धमा भनिएको छ– “तेस्रो संविधान सभाको निर्वाचनमा आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलौँ र त्यसको नयाँ, नौलो, सुहाउँदो नाम द्वन्द्वपीडित बालबालिका राखौँजस्तो लाग्छ । नयाँ पार्टी खोल्दा वर्तमान पार्टीको प्रमुख विपक्षी पार्टीले पनि खर्च दिने, विशिष्ट र विकासे मुद्दा उठाएपछि गैरसरकारी संस्थालाई झैँ दातृनिकायबाट अनुदान पनि पाइने ।”

यस निबन्धमा सर्वप्रथम त तेस्रो संविधान सभाको प्रसङ्ग उठाएर राजनीतिक दलको ढिलाढाला, सुस्त, विषयकेन्द्रित नहुने, अरूको स्वार्थमा परिचालित हुनेजस्ता समस्याप्रति इङ्गित गरिएको छ भने अर्कातिर, राजनीतिक पार्टी खोलिसकेपछि प्रशस्त धनपैसा कमाउन खोज्ने, त्यसका लागि द्वन्द्वपीडित बालबालिकाको दुरूपयोग गर्ने तथा गैरसरकारी संस्थाको सहयोग लिने प्रवृत्तिको आलोचना गरिएको छ ।

सोही निबन्धको अन्तमा भनिएको छ– “हिजोआज निदाउनुभन्दा अघि हरेक रात म सोच्छु, यत्रो जालझेल, खेलखर्च गरेर सबभन्दा पछिल्लो अँध्यारो कुनामा बसेर ताली बजाउने सभासद बन्नुभन्दा त्यो मिहिनेत र पुँजी लगानी गरेर उद्योग–व्यवसाय गरेको भए मेरो परिवारको, संविधानको र देशको भविष्य कता जान्थ्यो होला ? कहाँ पुग्थ्यो होला ? कति उज्यालिन्थ्यो होला ?”

यहाँ अनैतिक काम गरेर सभासद बन्नुभन्दा इमान्दारितापूर्वक मिहिनेत गरेमा परिवार, संविधान र देशको भविष्य उज्यालिने प्रसङ्ग उठाइएको छ ।

लेखक राईले प्रत्येक निबन्धको सुरुमा प्रशस्त व्यङ्ग्य गरेर अन्तिममा निस्कर्षस्वरूप उचित सुझाव दिने तरिका अपनाएका छन् । उनको त्यस्तो शैलीले सबै निबन्धलाई समाजप्रति उत्तरदायी र कर्तव्यबोधयुक्त भूमिकामा उभ्याएको छ ।

नेपाली साहित्यमा व्यङ्ग्यकृति त्यति धेरै छैनन् । लेखक राईको प्रस्तुत कृतिले नेपाली व्यङ्ग्य साहित्यको भण्डारलाई समृद्ध तुल्याउने आसा र विश्वास गर्न सकिन्छ ।

कमजोरी
प्रस्तुत कृतिको आलोचना प्राथमिकतायोग्य छैन । फेरि पनि कतिपय निबन्धमा लेखक आफैले तयार पारेको मानकअनुसार नहिँडेको स्थिति देखा पर्दछ† जस्तै– “वैचारिक स्थानहरू” निबन्धमा अन्ततिर विषयवस्तु अर्कैतिर स्वच्छन्द हिँडेको देखिन्छ ।

कतिपय शब्द विशुद्ध भाषिकाजस्ता लाग्दछन् । त्यसको अर्थ बुझ्नका लागि मोरङकै साथीभाइलाई फोन गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ ।

भाषा–व्याकरणसम्बन्धी पछिल्लो मानकलाई अनुशरण गरिएको भनिए पनि स्थिति ठिक त्यही प्रकारको छैन । कैयौँ ठाउँमा पुरानै मानकलाई पछ्याइएको छ ।

नेपाली भाषामा बहुवचन दोष नयाँ विषय होइन । अङ्ग्रेजी र हिन्दी भाषाको प्रभावस्वरूप नेपाली कृतिमा पनि प्रशस्त बहुवचन दोष देखिने गर्दछन् । राईको प्रस्तुत कृतिमा पनि यस्ता दोष प्रशस्त छन् ।

अन्त्यमा
पुस्तक डिमाइ आकारमा १३२ पृष्ठको छ । त्यसमध्ये पूर्वपृष्ठ (प्रिपेज) आठ छन् भने निबन्धपृष्ठ १२४ छन् । छावा प्रकाशन मोरङका लागि रेखा सुवेदीले यो पुस्तक प्रकाशन गरेकी छिन् । २०७७ असार २९ गते सोमबार प्रकाशन गरिएको प्रस्तुत कृतिको मूल्य नेरु २२५ राखिएको छ ।

Author

  • आयो रैबार संवाददाता

    View all posts

समीक्षा
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

१५ कार्तिक २०८२, शुक्रबार १०:४२

उ घर खोज्दै छ (कथा)

१२ कार्तिक २०८२, मंगलवार १५:३३

नाट्यग्रन्थ लाेकार्पण कार्यक्रममा चार स्रष्टा सम्मानित

३० आश्विन २०८२, बिहीबार १४:०६
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति