उसको इतिहास लामो छ किनकी उसको आफ्नो घर थियो, आफ्नो इतिहास, बंशावली, थातथलो, सस्कृती, सभ्यता, भाषा-भेष, समाज, आफन्त सबै सबै थियो । तर उ नयाँ सिकाइको दौरान सानै उमेरमा उसले आफ्नो घर छोडेर पढाईको शिलशिलामा शहर पस्यो । शहरमा पढाई सक्यो अझै झन पढ्न भनेर बिदेश आएको पनि १० बर्ष बढी बितिसकेछन । आफ्नै भब्यमहलको बैठक कक्षमा बसेर बिहानै देखि टोलाई रहेछ आज उ । आफ्ना पुर्खाहरुको इतिहास सम्झिन्छ ।

मानवजातीले गरेको कठिन संघर्ष सम्झिन्छ । लाखौ बर्ष बनजङ्गल, नदिनाला, समुद्रमा घुमेको सम्झिन्छ। बिगत सम्झिन्छ, दुख सम्झिन्छ, कन्दमुल खाएको सम्झिन्छ । ढुङ्गाका हतियार बनाएर जनावर मारेको सम्झिन्छ । काचै खाएको सम्झिन्छ । आगो बलेको सम्झिन्छ । मासु पोलेर खान सिकेको सम्झिन्छ । कृषि गरेको सम्झिन्छ । हलोको आविष्कार भएको सम्झिन्छ, गोरु जोतेको, गाडा चलाएको सम्झिन्छ । पुर्खाहरुले डुङ्गा खियाएको देख्दैछ । लाखौ बर्ष बितेछन तर उ आज आफ्नै सम्पन्न शहरको भव्य बङ्गलामा बसेर आफ्नै घर खोज्दैछ ।
उ आफै एउटा गरिव देशको विकट गाउँबाट शहर पस्दा तीन दिन हिडेर गाडी चढ्ने ठाउमा पुगेको सम्झिदैछ । अनि एकरात त्यहाँ बसेर अर्कोदिन बिहान गाडी चढेको र गाडीमा बस्दै गर्दा झ्यालबाट बाहिर हेर्दा धर्ती हिडेको झन पर झन बढी रुखहरु पछाडि हिड्दै गरेको देखेको हो । त्यो देख्दा रामायणमा राम बनबास जादा पुरै रुखहरु भगवान राम सङ्ग संगै हिडेको कुरा सम्झन्छ । उसको यो अवस्था सम्म पुग्दा सम्मको आफ्नै संघर्ष कम्ता भने कहाँ हो र । जे होस उस्ले पुरानो देश छोडेर नयाँ देशमा आएको त हो नी । नयाँ सम्पन्न शहरमा आएर दुख गरेको हो, पढेको हो, यहि समाज अनुकुल हुन घर किनेको हो । छिमेकी नयाँ बनाएको हो । नयाँ समाज, नया पेशा नोकरी त बनाएकै हो नी ।

तर उ आज आफ्नो घर खोज्दैछ । उसको घर कहाँ हो ? उसको बिगत सानो छदा बाबा आमा बसेको, उ जन्मेको, उसले पहिला नागरिकता पाएको देशमा उसको घर छ, त्यो उसको घर हो र, होइन भने कहाँ हो उसको घर । उ अफैले बनाएको अहिले बसिरहेको घर जहाँ उसका सबै परिवार बसेका छन, घर बनाइसक्ने बित्तिक्कै आमा बुवा लिएर आएको छ । संगै आमा बुबा छन, श्रीमती, छोरा छोरी संगै छन, आनन्दको बङ्गाला छ, आफ्नै दुख पशिना मिसिएको हुनाले प्यारो छ यो घर । तर घर भनेको के हो, के होइन ?
उसको बालापनमा खेलेको भूगोल, बनपाखा, छङछङ बग्ने खोला-नाला, झरना, वालापनका गोरुबाख्रा चराउदाका दौँतरी, त्यो बालापनको घर, ती आफन्त, ती छिमेकी, त्यो अपनत्व, गाउँ र गाउले आफन्त हरुको त्यो अगाध माया प्रेम, मरे भेटिन्न यहाँ । उसलाई यो आफनै घर बिरानो लाग्दैछ । उ हिन्दु परम्परा, सस्कार-सस्कृतीमा हुर्क्यो, उसका आफ्नै बेग्लै चाडबाड थिए । उसका छोरा-छोरीको भाषा बेग्लै, स्कुल बेग्लै, किताब बेग्लै, रहनसहन बेग्लै, सस्कार- सस्कृती बेग्लै, चाडवाड बेग्लै, भूगोल बेग्लै तर छोराछोरी आफ्नै । उ आफै भित्र आफै हराइरहेको । आफै भित्र सबै सस्कृती को संयोजन र मिलन भएको जस्तो पाउछ ।

त्यसैले उ आफ्नो घर खोज्दैछ । उ जन्मेको घर र उसको अहिलेको घर भौगोलिक रुपमा सात समुद्र पारी छ । दिन र रातको फरक छ । तर उ भावनात्मक रुपले नजिकै छ । हातमा मोबाइल छ त्यसमै उसको जन्मघर छ । आफन्त परिवार जन सङ्ग फोनको माध्यमबाट सबैको सन्चो बिसन्चो, दुख सुख, चाडबाड, मेला पर्व, खेत खलियान का खबर प्रत्यक्ष पाईरहन्छ । उ घर भन्दा टाढा छकि नजिक ? उ आफ्नो घर नजिकै छ, घरमै छ तर सात समुद्र पारी छ । उसलाइ त्यहाँको भाषा दोस्रो-तेस्रो जस्तै लाग्छ तर उ आफू मेरो यो दोस्रो भाषा हो व्यक्त-अव्यक्त कहिल्यै गर्दैन । उसले आफै होइन पढेर, सुनेर, बोलेर सिकेको हो त्यो भाषा । यस्तै धर्म पनि फरक छ अहिले बसेको ठाउको । त्यही अनुसारको सस्कार सस्कृती छन यहाँ त्यसैले उस्लाइ अहिलेको भव्य बङ्गला भएको आफ्नै घर बिरानो लाग्छ उसलाई ।

आज उ घर खोज्दै छ, घरको परिभाषा खोज्न मझघारमा उभिएको छ । सिङ्गो बिश्व आज उसको घर भित्रै छ, उसको मोबाईल फोनको एक क्लिकमा सारा संसारको इतिहास,भूगोल, सस्कार-सस्कृती, कथाकहानी, भाषा, पुस्तक, यात्रा, राजनिती, बिज्ञान, प्रबिधि भेटदैछ । तर आफ्नो जन्मघर बाट उ धेरै टाढा छ, उ घरमा नभएर अशान्त छ, बेचैन छ । हिजो उसको घर थियो । घरले दिने सबै किसिमको आश्रय पाउथ्यो । घरमा शान्ति, सुख, आनन्द, माया, प्रेम, हासो आँसु सबै पाउथ्यो ।
तर उसको आज घर मात्रै होइन सम्पन्न देशको विकसित शहरमा उसको आफ्नै घर बङ्गलो छ तैपनि उ आज आफ्नै घर खोज्दैछ ।

