साॅझ पर्नै लागेको थियो,बाटोतिरबाट दौड्दै आफ्नो घरको आँगनमा आएर छोरीले भनि,“आमा म एसइइ पास भएँ !” छोरीको भनाइ सुनेपछि मानकुमारीको मुहार खुशीले उज्यालो भयो।
खिस्स हाॅसेर उनले छोरीलाई भनिन् ,“ल धेरै धेरै बधाई छ छोरी तिमीलाई।
तिमीले आफ्नो परीश्रम र मेरो एउटा सपनालाई सफल बनायौ! धन्यवाद छ छोरी !”
आमाको कुरा सुनेर छोरीले भनि “आमा मैले हजुरको दु:ख बुझेको छु। म हजुरको पसिना र सपनालाई कहिल्यै खेर जान दिनेछैन।”
छोरीको कुरा सुनेर मानकुमारीले आफू खुशीले भक्कानिएर छोरीलाई अंगालो हाल्दै सोधिन् , “कुन डिभिजन आएछ नि ? अनि कति प्रतिशत आएछ नि?!”
छोरीले भनि “डिभिजन हैन आमि, ग्रेड भन्छन् आजकल त। मेरो ग्रेड B+ आयो! अनि प्राप्ताङ्को प्रतिशत हुॅदैन GPA हुन्छ आजकल।मेरो GPA३.१ आयो आमा !”
मानकुमारीले ग्रेड र जिपिएको कुरा त बुझिनन् ।तैपनि छोरीले म पास भएँ भनेकोले उनी आनन्दित बन्दै छोरीलाई पढाउदाको समयमा आफुले आफ्नो एक्लो घर गृहस्थी धानेर छोरीको स्कुलको नियमित शूल्क तिर्ने र किताब-कापी किन्ने खर्च जुटाउन आफूले गर्नुपरेको दुख र मिहेनत सम्झिइन्। खेतीपाती गरेर अन्नपात बेचेको सम्झिइन् ,बाटो छेउमा मकै पोलेर बेचेको सम्झिइन् ,बदम भुटेर बेचेको सम्झिइन् ,फलफूल र सागपात बेचेको सम्झिइन् । छोरीको पढाइ खर्च जुटाउन आफूले दुई छाक मिठो खान नसकेको,राम्रो लाउन नसकेको सम्झिइन्। चाडवाड आउॅदा धौ धौ चाडवाड मनाएका दिनहरु सम्झिइन्। तर आज छोरीको एसइइ को सफलताको खवरले उनको बिगतका सबै दुखहरुलाई बिर्सायो, अभावको समयका सबै पिडाहरुलाईबिर्सायो।
यतिबेला मानकुमारीलाइ एसइई उतिर्ण आफ्नी छोरीको हर्षित मुहारमा एकोहोरो हेरिरहन मन लाग्यो। छोरीको मुहारमा हेर्दै मानकुमारीले कल्पना गर्न थालिन्- “ म मेरी छोरीलाइ ११/१२ मा यो बिषय पढाउने छु,स्नातकमा यो पढाउने छु!त्यो भन्दा माथि यो पढाउने छु !” “मेरी छोरीलाई म यो समाजको अगाडी यस्तो ठुलो मान्छे बनाउने छु,यस्तो असल मान्छे बनाउने छु!”
यत्तिकैमा छोरीले भनि, “आमा अब दुईचार दिनपछि त ११/१२को भर्ना खुल्छ रे । के गर्ने,यहीॅ कतै पढने कि काठमान्डौ जाने ?” छोरीको प्रश्न सुनेर मानकुमारीले तत्काल केही जबाफ दिन सकिनन्। तर एकछिनको मौनता पछि बोलिन् ,“हुन्छ,छोरी तिमीलाई जहाॅ पढने मन छ त्यहीॅ पढ्ने !”
यति भन्दै गर्दा मानकुमारीको मनलाई छोरीको पढाई खर्च जुटाउने कठिनाइ र आफ्नो अभावको गृहस्थ जीवनको यथार्तले पिरोलिरहेको थियो। तैपनि उनी आफ्नी छोरीको लगनशीलता र आफ्नो पसिनाको कमाइले छोरीको भविस्य स्वर्णिम बनाउने आशामा ढुक्क थिइन् ।

