जातभात छुवाछूत छैन भने पनि
जतिसुकै ठूला ठूला कानुन बने पनि
सिलाएको लुगा चल्यो मान्छे चलेन
तिम्रो घरमा मेरी छोरी भान्से चलेन….
नेपाली समाजमा जातीय विभेद र छुवाछूत प्रथा अहिले पनि सामाजिक कलंकका रुपमा जीवित रहेको छ । भन्न त कानुनका ठेलीहरुले जातभात र छुवाछूत प्रथा हट्यो भन्छ । तर, व्यवहारमा त्यो अझै हट्न सकेको छैन । सामन्ती पुरातनवादी चिन्तनले सिर्जना गरेको जातीय विभेदको पर्खाल अझैपनि भत्कन सकेको छैन ।
देशमा कैयौँ राजनैतिक आन्दोलनहरु भए । सामन्तवादको मुख्य नाइके राजतन्त्र यो देशबाट विदा भइसकेको छ । देश गणतान्त्रिक युगमा छ । तर, नेपालीहरुको मस्तिष्कमा जरा गाडेर बसेको त्यो पुरातनवादी सामन्ती चिन्तन भने अझै परिवर्तन हुन सकेको छैन । कस्तो अनौठो र आश्चर्यजनक चलन छ हामी कहाँ मान्छे मान्छेका बीचमा ?
जसले सबैभन्दा बढी पसिना बगाउँछ, जसको सिर्जनाबाट हामी जीवन चलाउँछौँ, जसको कला चल्छ, गला चल्छ, तर त्यही मान्छेले छोएको पानी चलाउँदैन यो समाजले । उसले सिलाएको कपडा लगाएर आफ्नो इज्जत छोप्छ यही समाजको मान्छेले तर उसैसँग छोइँदा जात गएको सम्झन्छ उसले । कति लाजमर्दो चलन ?
मूर्ति जसले बनाउँछ, मन्दिर भित्र गएर उसैले त्यो मूर्तिलाई छुन पाउँदैन । नेपाली समाजमा जातीय विभेद र छुवाछूतका घिनलाग्दा घटनाहरु अहिले पनि दिन प्रतिदिन देखिइरहेका छन् । हाम्रो समाजमा अहिले पनि सामाजिक कलंकको रुपमा रहेको जातीय विभेद र छुवाछूत प्रथालाई मुख्य विषय बनाएर नयाँ गीत आएको रहेछ, “तिम्रो घरमा मेरी छोरी ।”
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष, चर्चित लोकगायक बद्री पंगेनीको संगीत, स्वर र निर्देशनमा आएको यस गीतमा बद्रीलाई स्वरमा साथ रचना रिमालले दिएकी छन् । विश्वास नेपालको संगीत संयोजन रहेको यस गीतमा पाका पुराना चर्चित कलाकार सन्तोष पन्त र लक्ष्मी गिरी तथा कलाकारहरु टिका जैसी, रश्मि भट्ट, कृष्ण बराल र मनिसा राउतले अभिनय गरेका छन् ।
बद्री पंगेनीको आफ्नै युट्युब च्यालनबाट २६ मंसिर २०७७ मा सार्वजनिक भएको यस गीतका शब्दहरु नारायण ज्ञवालीले लेखेका छन् । गीतमा हाम्रो समाजमा जरा गाडेर बसेको जातिपाती र छुवाछूत जस्तो कू–प्रथाको यथार्थ तस्बिर उतारिएको छ ।
कला चल्यो, गला चल्यो मान्छे चलेन
तिम्रो घरमा मेरी छोरी भान्से चलेन
किन सम्धिनी मान्छे चलेन
किन सम्धिज्यू भान्से चलेन…………तेरो माइती यस्तो उस्तो किन भन्नुहुन्छ
मान्छेमाथि मान्छे कति कठोर बन्नुहुन्छ
सिलाएको लुगा चल्यो मान्छे चलेन
तिम्रो घरमा मेरी छोरी भान्से चलेन……
अन्तरजातीय विवाह गरेकै कारण बेघरबार भएका जोडीहरु कैयौँ छन् हाम्रो समाजमा । जीवनलाई सहज र सरल रुपमा अगाडि बढाउन चाहिने मुख्य चीज भनेको आपसी प्रेम र विश्वास हो । तर, हाम्रो समाजमा जातीय विभेद र छुवाछूत जस्तो कू–प्रथा त्यो प्रेममा पर्खाल बनेर उभिने गरेका छन् । स्वतन्त्र तरिकाबाट आफ्नो हितको जोडी रोज्ने अधिकार युवायुवतीहरुलाई अझै पनि दिएको छैन हाम्रो समाजले ।
जसले जातीय विभेद र छुवाछूतको प्रथालाई चुनौती दिँदै अन्तरजातीय विवाह गरेका छन्, उनीहरुले विकराल परिस्थितिको सामना गर्न परिरहेको हामीले देखिरहेका छौँ । कथित उच्च जातिको केटासँग प्रेम विवाह गरेर जाने दलित समुदायकी चेलीले कहालीलाग्दा महिला हिंसा भोग्नु परेका दृष्टान्तहरु प्रशस्तै छन् । घर परिवार र नातापाता आफन्तजनहरुले ती चेलीलाई दिने शारीरिक र मानसिक प्रताडनालाई गीतका शब्दहरुमा हुबहु रुपमा उतारेका छन् यस गीतमा गीतकारले ।
गत जेठ महिनामा रुकुमको चौरजहारीमा घटेको नरसंहारकारी अमानवीय हत्याको घटना हाम्रो अगाडि अझै ताजै छ । कथित उच्च जातकी युवतीसँग प्रेम गरेकै कारण जाजरकोटका नवराज विक र उनका पाँच जना साथीले ज्यान गुमाउनु प¥यो । सामन्ती र पुरातनवादी रुढीगत विचारबाट ग्रसित त्यहाँको कथित उच्च जातिको अमानवीय जमातले आफ्नी प्रेमीकालाई बिहे गरी ल्याउन गएका नवराज र उनका साथीहरुलाई घेराबन्दीमा पारेर घरेलु हतियारले कुटीकुटी मारेर सेतीमा फालिदियो । कति निर्दयी जमात ? सुन्दा मात्र पनि आङ सिरिङ्ग हुने ।
रुकुम चौरजहारीको उक्त घटनाको मूलकारण जातीय विभेद र छुवाछूत जस्तो कूप्रथा नै थियो । नवराज दलित समुदायका युवक, उसँग आफ्नी छोरी गइ भने आफ्नो इज्जत जान्छ । समाजमा मुख देखाउन नहुने अवस्था आउँछ । यही सोचका कारण त्यहाँको कथित उच्च जातिले नवराज र उनका साथीहरुलार्ई आक्रमण गरी मारेर फालेका हुन् । चर्को दबाबपछि त्यस नरसंहारकारी अमानवीय घटनाका दोषीहरुलाई प्रशासनले गिरफ्तार गरी जेल त पठायो तर सत्ता, शक्ति र पहुँचका आधारमा अहिले पनि ती अपराधीहरुलाई उन्मुक्ति दिने खेल चलिरहेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।
बर्बर ढुंगे युगको झल्को दिने रुकुम चौरजहारीको त्यही नरसंहारकारी हत्याको घटनाबाट पनि थाहा हुन्छ नेपाली समाजमा जातिपाती र छुवाछूतको कूप्रथाले कुन हदसम्म जरा गाडेको रहेछ भन्ने । जातीय विभेद र छुवाछूत प्रथाकै कारण अरु कैयौँ घटनाहरु हाम्रो समाजमा घटिरहेका छन् । यो कूप्रथाकै कारण समाजमा हत्या, आतंक र महिला हिंसाका घटनाहरु बढ्दै गइरहेका छन् । आखिर हाम्रा चेलीहरुले न्याय कहिले पाउँछन् ? गीतमा जायज प्रश्न उठाइएको छ ।
हाम्रा चेलीहरुलाई कहिले न्याय हुन्छ
जातीय विभेद देख्दा न्याय आफै रुन्छ
दाइजो देको औँठी चल्यो मान्छे चलेन
तिम्रो घरमा मेरी छोरी भान्से चलेन…..
युगले एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा पाइला लम्काइरहँदा पनि नेपाली समाज भने अझै पनि जातीय विभेद र छुवाछूतको कूप्रथामा जकडिइरहनु निकै लाजमर्दो विषय हो । यस्ता कूप्रथाहरुलाई जीवित राखेर हाम्रो समाजले कहिल्यै पनि समुन्नती र विकासको यात्रा गर्नसक्ने छैन । आखिर यस्तो अवस्था कहिलेसम्म ? गीतमा स्वाभाविक प्रश्न उठाइएको छ । हाम्रो संविधानले जातीय विभेद र छुवाछूतको व्यवहारलाई दण्डनीय अपराध मानेको छ । त्यस्तो व्यवहार गर्नेलाई दण्ड सजायको व्यवस्था गरेको छ ।
तर, समाजमा जातीय विभेद र छुवाछूतका गम्भीर घटनाहरु घटिरहेका छन् । ती घटनाहरुले स्पष्ट पार्दछन्, संविधान र कानुनका ठेलीहरुमा लेखेर मात्र जातीय विभेद हट्दो रहेनछ । राजनैतिक क्रान्तिले मात्र सभ्य र समुन्नत समाज निर्माण गर्न नसक्दो रहेछ । त्यसका लागि देशमा चेतनामूलक सामाजिक क्रान्ति हुनु पनि अपरिहार्य रहेछ । यस गीतले उक्त कुरा पनि प्रष्टसँग बोलेको छ ।
हो, देशमा अब एउटा यस्तो सामाजिक क्रान्तिको खाँचो छ, जसले मान्छे मान्छेबीचको विभेद हटाउन सकोस् । श्रम गर्नेहरुको पसिनाको सम्मान हुन सकोस ।” मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन” भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइलाई व्यवहारमा नै उतार्न सकियोस् । सभ्य र सम्मुन्नत समाज निर्माणका लागि त्यसप्रकारको सामाजिक क्रान्ति नितान्त जरुरी छ ।
तर, त्यो क्रान्ति गर्न त्यति सजिलो भने हुने छैन । समाजका मानिसहरुको दिल दिमाग भित्र जेलिएर बसेका कुविचार र कुसंस्कारलाई परिवर्तन गर्ने कुरा निकै जटिल विषय हो । त्यही जटिल काम नगरिकन हामीले सभ्य र समुन्नत समाजको निर्माण गर्न सक्नेछैनौँ । गीतले त्यसप्रकारको सामाजिक क्रान्तिको अपरिहार्यतालाई प्रष्टसँग औल्याएको छ ।
चेतनामूलक सन्देश
व्यवसायिक कलाकारहरुबाट आउने प्रायः गीतहरुमा समस्याको उजागर त गरिएको हुन्छ, तर प्रष्ट सकारात्मक र चेतनामूलक सन्देश भेटिँदैन । तर, गीत “तिम्रो घरमा मेरी छोरी”ले भने स्पष्ट रुपमा चेतनामूलक सन्देश प्रवाह गरेको छ । मलाई यो गीतको सबैभन्दा राम्रो लागेको पक्ष नै यही हो । मान्छे–मान्छेबीचको विभेद अन्त्यका लागि देशमा अब फेरि अर्को क्रान्तिको आवश्यकता रहेको गीतमा प्रष्ट रुपमा औल्याइएको छ । एउटा गीत बन्नु मात्र ठूलो कुरा होइन, मुख्य कुरा त्यो गीतले प्रवाह गर्ने सन्देश हो । गीत÷संगीत केका लागि ? मात्र मनोरञ्जन र व्यवसायिक मुनाफाका लागि कि नागरिकको जीवन, समाज र राष्ट्रमा परिवर्तनका लागि ?
“तिम्रो घरमा मेरी छोरी”लाई समाज र देशप्रतिको जिम्मेवारी बोध गर्दै समाजको सकारात्मक परिवर्तनका लागि आएको एक सन्देशमूलक गीतका रुपमा लिन सकिन्छ । व्यवसायिक कलाकर्मीहरुबाट यसप्रकारका चेतनामूलकक गीतहरु आउनु निकै सकारात्मक र स्वागतयोग्य कुरा हो । हाम्रो समाजभित्र रहेका पुरातनवादी रुढीगत विचार र प्रवृत्तिहरुलाई बदल्न यसप्रकारका गीतले मद्दत पु¥याउँछन् नै । यसलाई एक प्रगतिशील गीतका रुपमा लिन सकिन्छ ।
एउटा गीत राम्रो र कर्णप्रिय बन्नका लागि शब्दहरुको भाव मात्र सुन्दर भएर हुँदैन । त्यो गीतको भाव अनुरुपको संगीत र संगीत संयोजन पनि उस्तै सुन्दर हुनु नितान्त जरुरी हुन्छ । गीतका शब्दहरुको भावमा डुबेर अन्तरहृदयबाट गायक गायिकाहरुले आवाज दिन सके भने त्यो गीत बल्ल राम्रो र कर्णप्रिय बन्न सक्छ । गीत “तिम्रो घरमा मेरी छोरी”मा रचना, संगीत, संंगीत संयोजन र गायन चारै पक्षको संयोजन निकै मेल खाएको छ । कुनै पक्षमा पनि कतै खोट लगाउने ठाउँ भेटिँदैन ।
सर्जक नारायण ज्ञवाली गीत संगतिको क्षेत्रमा नौलो नाम लाग्छ । प्रत्यक्ष चिनजान ती कसैसँग छैन मेरो । मैले सुनेको उनीहरु इन्जिनियरिङ क्षेत्रका व्यक्ति हुन । तर, यस गीतमार्फत् उनले सिद्ध गरेका छन्–निर्माण सामाग्रीहरुको मात्र होइन गीतका शब्दहरुको समायोजन र मिश्रण गर्ने कुशलता पनि उनीमा प्रचुर रहेछ । चर्चित लोकगायक बद्री पंगेनीले गीतका शब्दहरुको भाव अनुरुप न्यायपूर्ण संगीत भरेका छन् । विश्वास नेपालको संगीत संयोजन उस्तै सुन्दर सुनिन्छ । बद्री पंगेनी र रचना रिमालले निकै मर्मस्पर्शी तरिकाले मिठासपूर्ण स्वरमा गायका छन् यस गीतलाई । गीत सुन्दा यस्तो लाग्छ–दुवै गायक गायिकाले अन्तरहृदयको आवाजबाट गाएका छन् यो गीत । जति सुने पनि धित मर्दैन, सुनिरहुँ जस्तो लाग्छ ।
विज्ञान प्रविधिले उच्च विकास गरेको वर्तमान समयमा एउटा गीत राम्रो बन्न गीतको भिजुअलको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । गीतको भिजुअल पनि उस्तै सुन्दर बनेको छ । अभिनयमा विशेष दख्खल राख्ने पाका पुराना कलाकार सन्तोष पन्त र लक्ष्मी गिरीले अभिनय गरेका छन् यस गीतको भिजुअलमा । उनीहरुको अभिनयमा जिवन्तता झल्कन्छ । भिजुअलमा पाका पुराना र नयाँ नौला कलाकारहरुको संयोजन बडो सुन्दर ढंगले गरेको देखिन्छ । दलित समुदायबाट एक ब्रहाम्ण परिवारमा प्रेम विवाहमार्फत् बुहारी बनेर आएकी चेलीको भूमिकामा टिका जैसीले गरेको अभिनय निकै मन छुने खालको देखिन्छ ।
पुरातनवादी विचारबाट ग्रसित सासु ससुराबाट उनले पाएको यातना र त्यसकाविरुद्धमा उनले गरेको संघर्ष निकै प्रेरणादायी खालको छ । गीतको भिजुअलमा अभिनय गर्ने प्रत्येक कलाकारहरुले आ–आफ्नो भूमिकाप्रति पूर्ण न्याय गरेका छन् । स्वर, संगीत र गायनमा अब्बल देखिंदै आएका बद्री पंगेनीले यस गीतमार्फत् आफूमा निर्देशनको क्षमता पनि कम नरहेको प्रष्ट पारेका छन् ।
देश र समाज पीडामा छटपटाइरहेको बेलामा राष्ट्र र जनताप्रति जिम्मेवार कुनै पनि व्यक्ति हेरेर मात्र बस्न सक्दैन । अझ कलाकारहरु त भावनात्मक रुपमा निकै कोमल मानिन्छन् । देश, जनता र समाजको पीडाले ती कलाकारहरुको मनमा पनि स्वभाविक रुपमा प्रभाव त पारेको हुन्छ नै । फरक यति हो कुनै कलाकारहरुले त्यसरी देश रोइरहेका बेला आफ्नो कलामार्फत् त्यसमा योगदान गर्छन भने केहीले त्यो राजनीतिक क्षेत्रको विषय रहेको भन्दै आफूहरुलाई त्यससबाट अलग राख्ने काम गर्छन् ।
हामीले देख्दै आएका छौँ, देशमा निरंकुश राजतन्त्रको ताण्डव चलिरहेका बेला बद्री पंगेनीले सडकमा उत्रिएर जनतासँगै राजतन्त्र मुर्दावादको गीत घन्काए । “गणतन्त्र जिन्दवाद” गीतमार्फत् उनले जनताको हृदयको आवाज बोलिरहे । विस्तारवादी दक्षिणी छिमेकीले हाम्रो साँध सिमाना मिच्दै सिमानामा बस्ने नेपालीहरुमाथि गरेको अत्याचारका विरुद्धमा उनले सशक्त गीत लिएर आए । एकल महिलाहरुको पीडामा मल्लम लगाउन उनले “लाउ चेली सिन्दुर लाऊ” जस्तो प्रेरणादायी र सन्देशमूलक गीत ल्याए । सत्तामा पुगेपछि बाटो बिराउन थालेका नेताहरुलाई खबरदारी गर्दै उनले पटकपटक गीत गाएका छन् ।
देश, जनता र समाजप्रतिको आफ्नो जिम्मेवारी बोध गर्दै बेलाबेलामा जनपक्षीय, सन्देशमूलक र क्रान्तिकारी गीतहरु पनि ल्याउने गरेका उनै लोकगायक बद्री पंगेनीले यसपटक जातीय विभेद र छुवाछूूतकाविरुद्धमा अर्को एउटा सशक्त सिर्जना ल्याएका छन्–“तिम्रो घरमा मेरी छोरी ।” यो गीत, समतामूलक समाज निर्माणको अभियानमा लागेका प्रत्येक अभियात्रीहरुका लागि उर्जा प्रदान गर्ने प्रेरणादायी गीत बन्ने छ भन्ने आशा राख्न सकिन्छ । नेपाली समाजलाई छुवाछूत र जातीय विभेदको कुचक्रबाट मुक्त गराइ सभ्य, सुसंस्कृत र समुन्नत दिशातर्फ अघि बढाउन यस्ता अनगिन्ती गीतहरु निर्माण गरिनुपर्छ ।
लोकगायक बद्री पंगेनीबाट यस्तै चेतनामूलक उर्जाशिल गीतहरुले आगामी दिनमा पनि निरन्तरता पाउँदै जाउन । यस्तो प्रेरणादायी सन्देशमूलक गीत जनसमक्ष ल्याएकोमा गीतका सर्जक नारायण ज्ञवाली, गायक, संगीतकार एवं निर्देशन बद्री पंगेनी, गायिका रचना रिमाल, संगीत संयोजक विश्वास नेपाल, अभिनय गर्ने कलाकारहरु सन्तोष पन्त, लक्ष्मी गिरी र टिका जैसीलगायत यो गीत निर्माण टिमका सम्पूर्ण सदस्यहरुलाई हार्दिक बधाई । साथै, यस गीतले सफलताको शिखर चुमोस् हार्दिक शुभकामना पनि ।
आखिर कस्तो छ त गीत “तिम्रो घरमा मेरी छोरी”? हेरौं यो भिडियोमा………..