न्याय हराएको देश कवितासङ्ग्र्र्रह पुस्तकले देशको राजनीति, जनताको अवस्था, न्यायको स्थिति आदि परिवेशको चित्र खिच्दछ ।
जम्मा ७६ कविता सङ्गृ्रहित भएको यो कवितासङ्ग्रह मूल रूपमा प्रगतिशील सिद्धान्तमाथि आधारित छ ।
न्याय हराएको देश शीर्षक कविताले यस सङ्ग्रहमा सङ्ग्रृहित अन्य कविताको वैचारिक आधारलाई प्रतिनिधित्व गर्दछ । सबै कवितामा सामाजिक परिवर्तन, शोषणरहित समाज, मानवता, सामाजिक सद्भाव, राष्ट्रियता, देशप्रेम आदिको पैरवी छ । साम्राज्यवाद, प्रतिक्रियावाद, यथास्थिति, उदारवाद, नवउदारवाद, जातिवाद, साम्र्राज्यवादी युद्ध, राजनीतिमा भएको अपराधीकरण, सामाजिक तथा आर्थिक असमानता, वर्गीय विभेद, देशलाई विघटनको दिसातिर लैजाने सङ्घीयता, मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एम.सी.सी.) आदिको विरोध छ । आस्था, आदर्स, विश्वास, जीवन, प्रेम, आमा, क्रान्ति, व्यक्तित्व, जीवनलक्ष्य, खुसी, दुःख, शान्ति, बुझाइ, मृत्यु, सत्य, धनी, गरिब, समय, कर्तव्य, भाग्य, भ्रम, लोभ, सुन्दरता, शिक्षा, अधिकार, समाज, सहर र गाउँको जीवनबिचको भेद, कोरोना महामारी जस्ता विषयमाथि विमर्श गरिएको छ । देश र जनताप्रति सम्मान गरिएको छ । क्रान्तिको आवश्यकतालाई औँल्याइएको छ । क्रान्तिमा हिडेका क्रान्तियोद्धाको गाथा गुथिएको छ । ज्ञानलाई उज्यालो देख्ने आँखाको रूपमा लिइएको छ ।
कविताको बुनोट कवितात्मक शब्दमा नै हुनुपर्दछ । यो सुइटर बुने झैँ हुन्छ । सुइटरका लागि उनको धागो चाहिन्छ अर्थात् उनकै धागो प्रयोग हुन आवश्यक छ । सुहाउने हुन्छ÷हुँदैन, सुन्दर बन्छ÷बन्दैन ? त्यो स्रष्टाले ध्यान दिने कुरा हो । अनावश्यक बुट्टा हाल्दा त्यसको पहिचान थाहा नहुन सक्दछ । अनेक प्रकारका खानेकुरा थालीमा राख्दैमा त्यो भोगयोग्य हुँदैन । त्यो खानाको नामबाट बोलाउनयोग्य हुनुपर्छ । यदि त्यसो हुन सकेन भने त्यो किच्चड हुन्छ अनि त्यो भोगयोग्य हुँदैन । साहित्यमा पनि यो ध्यान दिइन्छ ।
भात, दाल, तरकारी, हरियो साग, अचार, मासु, दही भएको खानेकुरा धेरैलाई मन पर्छ । भातको थुप्रो वा दालको दहले मात्र खाना हुँदैन । सबै खाना सबैका लागि अनुकूल हुन्छन् भन्ने हुँदैन, कोही शाकाहारी हुन्छन् । कोही नुन कम खाने हुन्छन्, कोही दही नखाने पनि हुन्छन् । कसैकसैलाई त भात, रोटी आदि पनि वर्जित भएका हुन्छन् । कविताको कुरा पनि त्यस्तै हो ।
विभिन्न रसमा बेग्लाबेग्लै लत बसेका हुन्छन् । शृङ्गारिक, हास्य, विरह, वीरता, रौद्रता, करुण अर्थात् बेग्लाबेग्लै रसयुक्त शब्दप्रतिको आकर्षणले गर्दा कसैलाई कुनै कविता उत्कृष्ट लागे पनि अरू कसैलाई त्यही कविता मन नपर्ने हुन्छ तर एउटा न्यायपूर्ण र वास्तविक समालोचकले त्यसो भनेर उछिट्टिन मिल्दैन । उसले आफूले न्याय गर्न खोजेको विषयलाई जे हो, त्यही अवस्थामा देखाउन सक्ने खुबी राख्नुपर्दछ । पाठकका बेग्लाबेग्लै रुचिबाट यो कृतिको अध्ययन भए पनि समालोचक र समीक्षकबाट सही र तथ्यका आधारमा यसको मूल्याङ्कन होस् भन्ने हाम्रो सुझाव छ ।
कवितामा शब्द मात्र भएर हुँदैन, छन्द मात्र भएर मात्र हुँदैन, रहस्य र अर्थको अनुत्तरित प्रश्न भएर मात्र हुँदैन तर शब्दहरू जब बान्किला भएर छन्दमा उनिन्छन् र रहस्य र अर्थपूर्ण प्रश्नलाई हल दिइरहेका हुन्छन् । परिवेश, काल र परिस्थितिको अवगत गराउन सफल हुन्छन् शब्दहरू, तब अर्थपूर्ण कविता बन्दछ । शब्दमा व्यक्त हुने अर्थपूर्ण विशेषता बोक्नु नै कविताको गुण हो । गोलेरचित कविताले अर्थपूर्ण विशेषता बोकेका छन्, ती विशेषताको आधारमा उनका कविताको अध्ययन भएमा पाठकले कविप्रति न्याय गर्न सक्ने छन् ।
न्याय हराएको देश मा सबैभन्दा सास्ती पाउने भनेको सर्वसाधारण जनताले हुन्छ भने बाहुबली, शक्तिसम्पन्न, भ्रष्ट, अनैतिकहरूको गुण्डाराज चल्दछ । अहिले देशको तस्बिर त्यही रूपमा देखा परेको छ । एकातिर, भ्रष्ट, अनैतिक, हत्यारा, घुसखोरी, ठग ठेकेदार, विभिन्न अपराधमा मुछिएका अपराधी, जालीफटाहा, माफिया, राष्ट्रघाती, साम्राज्यवादी कठपुतली, धार्मिक कट्टरपन्थी, सामाजिक सद्भाव भड्काउने विखण्डनकारी जस्ता तत्त्व जनताको छनौटमा पर्ने कार्य तीव्र बन्दै गएर नीतिनिर्माण गर्ने ठाउँमा विदूषक चरित्रको सर्वोच्चता बढ्दै गएकाले कानुनी राज्य, असल शासन र लोक–कल्याणकारी राज्यको परिकल्पना तथा सांस्कृतिक नैतिकता सङ्कटमा छ । अर्कातिर, जनताले नैतिकता हराएका र भ्रष्टहरूलाई त्यसरी नीतिनिर्माण गर्ने स्थानमा पु¥याइसकेपछि नैतिकता र आचरण खोज्ने हास्यास्पद परिस्थिति निर्माण भएको छ । को भ्रष्ट हो ? जनता वा तिनले सिफारिस गरेको व्यक्ति ? यो विषम प्रश्नले देशलाई गिज्याइरहेको छ । कानुन, नियम र संविधानको मर्यादापालकहरूले गाईजात्राको स्थिति सिर्जना गराएको अवस्था छ । न्यायालय न्याय नपाई मरेका मानिसहरूको मुर्दा थन्काउने घर हुन् कि भन्ने आभाष हुन थालेको छ । अन्यायी तरिकाबाट नियुक्त हुने न्यायमूर्तिले न्यायलाई जिउँदो राख्दछ भन्ने कुरा कल्पना गर्न पनि सकिँदैन । न्यायालयको हालत त्यस्तो भइसकेपछि सर्वसाधारणले न्याय नपाउने कुरा स्वाभाविक छ । न्यायका बारेमा प्रश्न उठ्नु स्वाभाविक छ :
कस्तो न्याय ?
पीडितको चित्कार
कानले सुन्दैन, आँखाले देख्दैन
दुःख बुझ्दैन
हिजोआज न्याय
न त हर्ष, न त विस्मात् भएको छ (न्याय हराएको देश)
न्याय हराएको देशमा अन्तमा न्याय हराएको नै प्रमाणित हुने हो तर त्यो भद्रगोल अवस्थामा पनि निमुखाको छाला काढ्नका लागि कानुनका दस हात सक्रिय हुन्छन् । न्यायको वकालत भइरहन्छ तर भ्रष्ट र नालायक न्यायालयको सर्वोच्च स्थानमा पुगिसक्छ । न्यायमूर्तिले कहिल्यै कार्यान्वयन नहुने न्याय गरेर धर्मखातामा आफूलाई चोखाइरहन्छन् । डाक्टर सेतो कोट लगाएर अस्पताल आउँछ र चोरको चक्कु समाएर आँखा झिम्काउँदै अप्रेसन कक्षतिर लाग्दछ । बिरामीलाई हत्यारो आएको पत्तो नै हुँदैन तर ऊ डाक्टरलाई भगवान् सम्झिन्छ । शिक्षक विद्यार्थीबाट असुरक्षित हुन्छ । शिक्षकबाट छात्रा बलात्कृत हुन्छन् । बाबुबाट छोरी असुरक्षित हुन्छन् । सन्तानहरू संस्कारविहीन भएर पशुतुल्य बन्दछन् । न्याय हराएको देशमा नैतिकताको यसरी नै खडेरी परेको हुन्छ । त्याग र बलिदानबाट आर्जित संविधान शक्तिसम्पन्न र बाहुबलीका लागि नै हो त भन्ने प्रश्न कवितामा उठाइएको छ ः
ठुला मान्छेलाई खै कानुन ?
खै संविधान ?
जनताको त्याग र बलिदान भएर
यही संविधान बनेको हो ?
के हत्या गर्न मिल्ने ?
के बलत्कार गर्न मिल्ने हो ?
के न्याय छैन त ? (न्याय)
न्यायालयका न्यायमूर्ति भ्रष्ट भएका तथ्य सार्वजनिक हुँदा न्याय खोजिरहेका निमुखाको मन गम्भीर घाइते भयो र मानवजातिको न्यायप्रतिको विश्वासमा ठुलो भूकम्प गयो । भ्रष्टाचारीलाई खोज्दै हिँडेको अख्तियार आफै भ्रष्टको पुलिन्दा बनेर प्रकट भयो । त्यो बेलामा न्याय हराएको आभास हुनु स्वाभाविक छ तैपनि केही विश्वासका साथ न्यायको माग गर्दै लेखिएको छ :
दिनदिनै हत्या, हिंसा, लुट, बलात्कार
भ्रष्टाचार, कालोबजारी, घुसखोर, तस्करी
चरमोत्कर्षमा पुगेको छ
न्यायालयको आँखामा कालोपट्टि
अख्तियार आफै घुसखोरी
खै, कार्वाही ? (समानता)
सबैको जीवनलाई सम्मानित र समान बनाउने मुख्य साधन न्याय हो । यही साधनलाई भुत्ते बनाउँदा अन्यायको राज चल्दछ । अनैतिक र अवाञ्छित पक्ष स्थापित हुँदै जान्छन् । असभ्य दर्शन र विचारधारामा मानव समाज हिँड्न थाल्दछ, जसले सामाजिक विघटन र द्वन्द्व गराएर अशान्ति, असमानता र अन्याय उत्पन्न गराउँछ । त्यसलाई परास्त गर्नु नै मानवजातिको दायित्व र कर्तव्य बन्न गएको कुरा कवितामा जोडदारले उठाइएको छ ।
यो कृतिका रचयिता कथित जातीय र क्षेत्रीय राज्यका मागबाट प्रताडित पारिएका क्षेत्रअन्तर्गतका बासिन्दा हुन् । सङ्घीयतामार्फत् ती माग पूरा गर्ने प्रयत्न हुँदै आएका छन् । त्यस प्रकारका सङ्घीयताका लागि विभिन्न साम्राज्यवादी शक्तिको लगानी रहेको कुरा पनि कुनै लुकेको कुरा होइन । नेपालमा सङ्घीयता सामाजिक सद्भाव भड्काउने र देशलाई विखण्डन बनाउने माध्यमको रूपमा रहेको छ । त्यस सन्दर्भमा हामीले लेखकको साहसिक यात्राको सराहना गर्नुपर्दछ कि उनले सङ्घीयतालाई खारेज गरेका छन् । सङ्घीयता खारेज गरौँ शीर्षकको कवितामा नेता र जनताको जीवनबिचको अन्तर औँल्याइएको छ । नेता र कर्मचारीको सुविधामा खर्बौँ खर्च हुने देशमा देश विकासमा के लगानी भइरहेको छ र जनताले के पाइरहेका छन् भन्ने प्रश्न उठाउँदै सङ्घीयता देशको आर्थिक बोझ भएको भन्ने निष्कर्ष दिन सक्नु सङ्घीयतालाई खारेज गर्नु हो ।
सङ्घीयताको दुर्दशा कवितामा सामाजिक सद्भाव भड्काएर जातीयता र क्षेत्रीय युद्धको दिसामा देशलाई धकेलेको कुरा उठाउँदै सङ्घीयताका नाममा लुटेराको सङ्ख्या बढाइएकोप्रति विरोध प्रकट गरिएको छ । अर्को शीर्षकको कवितामा सङ्घीयता विभाजन र विभेदको आधार हो भन्दै सङ्घीयता विरोधी मत यस प्रकार प्रकट भएको छ :
सङ्घीयताको अर्थ
यो हुन्छ कि
देशलाई विखण्डन गर्ने हो
कथित सङ्घीयता
रङको आधारमा विभाजन
जातको आधारमा छुवाछुत
धर्मको आधारमा भेदभाव
देश विकासको आधारमा
विभाजन बोकिरहेछ (सङ्घीयता)
कवितासङ्ग्रहले राष्ट्रियताको पक्षमा पैरवी गरेको छ । सङ्घीयताको विरोध हुनु आफैमा राष्ट्रियताको पैरवी हो । एम.सी.सी. सम्झौताको विरोध पनि राष्ट्रियताको पक्षमा उभिएको पैरवी हो । एम.सी.सी. ले नेपालको स्वतन्त्रता र स्वाधीनतालाई चुनौती दिएको छ । एम.सी.सी. सम्झौतासँगै नेपालमा प्रवेश गरेको अमेरिकी साम्राज्यवाद राजनीतिक तहमा पनि जब्बर बन्दै गएको छ । खराब शासकको कार्यशैलीलाई आधार बनाएर जनताको बलिदान र साधनाबाट प्राप्त भएका उपलब्धिलाई चुनौती दिन विभिन्न साम्राज्यवादी तथा प्रतिगमनकारी तत्त्व तत्पर छन् तर उनीहरू देशको स्वतन्त्रता र स्वाधीनता विरुद्ध नेपालमा प्रवेश गरेको एम.सी.सी. सम्झौताका विरुद्ध कतै पनि देखिएनन् । यसबाट थाहा हुन्छ कि एम.सी.सी. कसको हितमा छ । देशभक्त जनताले त्यसका विरोध गरिरहेका छन् । कवि पनि त्यसैमा लामबद्ध भएका छन् ।
सामाजिक परिवर्तन चाहना कविमा प्रबल बनेर आएको छ । क्रान्तिद्वारा भएको सामाजिक परिवर्तनबाट मात्र विद्यमान विसङ्गगतिका सबै पक्षमा आमूल हेरफेर हुन सक्दछ भन्ने विश्वासलाई स्थापित गरिएको छ । क्रान्ति कुनै खास प्रकारको आँधी हो, जसले समाजको संयन्त्रलाई बदल्ने काम गर्दछ ।
कवितासङ्ग्रहमा सबभन्दा बढी बहस गरिएको विषय क्रान्ति र परिवर्तनबारे हो । सहिद, आस्थाको स्वर, मेरो देश, क्रान्तिको आवश्यकता, क्रान्तियात्रा, लालटिन, क्रान्तिकारी, उठ अब गरिब, कहिले जुट्ने, कसले बनाउने देश, हुन्न अब सहेर, आगो दन्किसक्यो, गए जाला ज्यान, जित, साम्यवादको विहान, वर्गसङ्घर्ष, क्रान्तिका पाठ, धनी र गरिब, समय, कर्तव्य, भाग्य, समानता, भ्रम, बिडम्बना, देशभक्त, सुन्दर हाम्रो देश, तिम्रो सहर, मनले जितौँ, ए नेपाली, मेरो देशको शिक्षा, अधिकार, जुक्ति, यो समाज, देशको अस्तित्व जस्ता कवितामा सामाजिक परिवर्तन, क्रान्ति र सङ्घर्षका लागि जनतासित आह्वान र अपिल रहेका छन् । यसरी यी कवितामा बढी भन्दा सामाजिक परिवर्तनका लागि क्रान्ति र सङ्घर्षमा जोड दिइएको छ ।
केही कविताको उदाहरण तल हेरौँ :
जताततै महालुटेराको सञ्जाल छ
यो व्यवस्था फाल्न
क्रान्तिको आवश्यकता भएको छ (क्रान्तिको आवश्यकता)
असमानताका पर्खाल भत्काउन
बढेको छ, बढिराछ, बढिरहने छ,
ऊ । (क्रान्तियात्रा)
पुँजीवाद हीराको सोकेसभित्र
थुनेर कतिञ्जेल राख्छ ?
मान्छेको हृदयमा आगो दन्किसक्यो
त्यो बर्बरता जलेर खरानी हुन्छ । (आगो दन्किसक्यो)
लखेट्नैपर्छ यहाँबाट विदेशी साम्राज्यवादलाई
चिनाउनैपर्छ नेपाली वीर योद्धाको इतिहासलाई । (गए जाला ज्यान)
टेकाउछौँ घुँडा हामी यो दलाल सत्ताको
विजय निश्चिछ छ जीत हामी जनताको । (जित)
उठ लडौँ यो देशका नवयुवा नौजवान
यो धर्तीमा झुल्किने छ साम्यवादको बिहान । (साम्यवादको बिहान)
कसैको गुलामी बनेर, बनाएर होइन
आफ्नै खुट्टामा उभिने हिम्मत गर र गरौँ
जय नेपाली
जय नेपाल । (ए नेपाली)
सचेत नागरिक उठौँ है
सचतेना नागरिक यै सबैलाई
मागेर पाइन्न अधिकार
खोसौँ सबैले बराबर । (अधिकार)
नेपाल साधन र स्रोतले सम्पन्न देश भए पनि अक्षम राजनीतिक नेतृत्व र भ्रष्ट कर्मचारीतन्त्रका कारण साठी लाखभन्दा बढी नेपाली विदेशमा श्रम गर्न बाध्य छन् । देशमा रहेका बाँकीले पनि विदेशतिरै मन फर्काएर बसेका छन् । त्यसरी विदेशमा गएकामध्ये कति काठको बाकसमा सिलबन्दी भएर आउँछन् भने कतिपयलाई दलालले उठिबास लगाउँछ । अन्तर्राष्ट्रिय कानुनबमोजिमका सुविधाबाट विदेशमा श्रम गर्न गएका नेपाली वञ्चित बनाइन्छन्; झुटा मुद्दामा फसाइन्छन् र कैयौँलाई फाँसीको सजाय दिइन्छ तर त्यो अवस्थामा पनि देशको सरकार निरीह भएर हेरिरहन्छ । प्रवासी नेपालीका हकअधिकारप्रति राज्यको यो उदासिनता निकै चिन्ता र क्षोभपूर्ण छ ।
कवितासङ्ग्रहमा विदेशमा श्रम गर्न गएका नेपालीको पक्षमा आवाज उठाइएको छ । उनीहरूलाई बिदेसिनुपर्ने बाध्यताबारे विमर्श गर्नुका सार्थ उनीहरूलाई क्रान्तिको बाटोमा ल्याउनु कविले उद्देश्य लिएका छन् । आफ्नो पक्षको नेताले चुनाव जित्नैपर्छ तर उनले चुनाव जितेमा देश के हुन्छ भन्ने थाहा नपाउने नेपाली समाजको राजनीतिक चेतनाको स्तर हो । आआफ्नो नेतालाई चुनावमा जिताउन भनी पाखुरा सुर्किएका मान्छेहरू खाडी वा विदेशका कुनै मुलुकमा पसिना बगाउन गएको बेलामा एकैसाथ भेट हुन्छन् । यसरी उनीहरूको वर्गीयता एउटै हो । बाँच्ने तरिका पनि उस्तै हो तर पाखुरा सुर्किने बेलामा मात्र फरक वर्गको हो । वर्गीयताको राजनीतिलाई बुझ्न अलिकति मिहिनेत गर्न सकेमा विदेशमा श्रम गर्न गएका श्रमिकले वर्गीयताको पहिचान गर्ने अवसर पनि पाउँछन् :
अब खाडीमा भेटौँला
अरबको तातो गर्मीमा जीवन रेटौँला
देशमा बसिसक्नु छैन
ए साथी परदेशमै भेटौँला । (परदेशमा भेटौँला)
त्यसरी विदेशमा गएका नेपालीलाई स्वदेशमा फर्किएर देशभक्ति सङ्घर्ष गर्नका लागि पनि आह्वान गरिएको छ :
फर्किआऊ छिट्टै परदेशी आफ्नै देशको माटोमा
लडौँ राष्ट्रिय अखण्डताको लडाइँको बाटोमा । (फर्किआऊ परदेशी)
साम्राज्यवादको विरोधी अभिमत यस कवितासङ्ग्रहको अभिमत साम्राज्यवाद विरोधी रहेको छ । साम्राज्यवाद संसारका लागि नै खतरा र समस्याको रूपमा रहेको छ । साम्राज्यवादको सञ्जालमा विश्वव्यवस्था लपेटिएको छ । त्यसैले आज साम्राज्यवाद पक्षधरको उन्नति भइरहेको छ । हरेक देशमा साम्राज्यवाद पक्षधरले ठाउँ लिइरहेका छन् । उनीहरू बिनाकारण सेलिब्रेटी हुनुमा साम्राज्यवादको धेरै ठुलो लगानी रहको कुरा छर्लङ्ग छ । एकातिर, राजनीतिक व्यवस्था साम्राज्यवादको पिछलग्गु हुनु र अर्कातिर साम्राज्यवाद विरोधी शक्ति कमजोर अवस्थामा रहनु, त्यस्तो चुनौतीको बेलामा पनि साम्राज्यवादका विरुद्धमा नै उभिनु प्रशंसनीय छ । साम्राज्यवाद मात्र होइन र साम्राज्यवादी युद्धको समेत विरोध र प्रतिवादसमेत गरिनुबाट कविको मानवताप्रतिको उच्च दृष्टिकोण झल्किन्छ ।
कविमा जीवन र जगत्प्रतिको बुझाइ द्वन्द्वात्मक भौतिकवादी रहेको छनक पाइन्छ । त्यसैले कविले जीवन र जगत्बारे विमर्श गर्दा जीवनका सकारात्मक र नकारात्मक दुबै पक्षलाई सन्तुलनमा राख्ने प्रयत्न गरेका छन् । यस कवितासङ्ग्रहमा खै कहाँ छन् मेरा खुसीहरू, जिन्दगीलाई प्रश्न, मलाई रहर थिएन, आमा, उही मेरी आमा, तिम्रो छोरा, जीवनलक्ष्य, खुसी, दुःख र शान्ति, मलाई, सच्चा यात्री, खुसी, ऊ नगर भन्छ, उसको र मेरो बुझाइ, फूलहरू, एकदिन मर्दै छु, लोभ, काठमाडौँ, हाम्रो सोचमा, दलित, कोरोना १९ जस्ता कवितामा जीवन र जगत्सम्बन्धी बेग्लाबेग्लै र विषयगत रूपमा विमर्श गरिएका छन् । जीवन के हो ? आमा को हुन्, रोग के हो, खुसी के हो ? बुझाइ के हुन्, जीवनलक्ष्य के हुनुपर्दछ, मृत्युु के हो ? दलित को हुन् ? दुःख र शान्ति के हुन् ? आदि प्रश्नमाथि विमर्श गर्न सक्नु कवितासङ्ग्रहको सफल पक्ष हो ।
निरपेक्ष केही पनि सही हुँदैन । कमजोरीसहित नै राम्रा पक्षलाई खोजिनुपर्दछ । कवितासङ्ग्रहमा कैयौँ कवितामा विषयवस्तु अलग अलग प्रस्तुत हुन गएको भए पनि शीर्षक दोहोरिदैँ तेहरिँदै जान्छन् । त्यसबाट दिग्भ्रम पैदा हुन्छ । न्याय, क्रान्ति, परदेशी, सङ्घीयताबारे शीर्षक तेहरिएका छन् । आमालगायतका कविता दोहोरिएका छन् । यस्ता समस्याको निराकरण गर्दै जानुपर्ने आवश्यकता छ ।
सामाजिक परिवर्तन र क्रान्तिको चाहनाको कलिलो मनस्थिति लिएर अगाडि आएको वर्तमान हस्ताक्षरलाई परिपक्व बनाउन मिहिनेत गर्नु आवश्यक छ । यो कृति न्यायको खोजसित सम्बन्धित भए पनि न्यायको वास्तविकतालाई सम्वेद्य गर्ने काम बाँकी नै रहन गएको छ ।
न्याय के हो भन्ने प्रश्न मात्र काफी हुँदैन, न्यायका अपहरणकारी विरुद्ध जनताको योजना के हुन्छ भन्ने कुरा पनि कवितामा आएको हुनुपर्दछ । राष्ट्रियताको पक्षमा पैरवी गर्नु र साम्राज्यवाद तथा त्यसले चलाएका सबै युद्धको विरोध गर्नु, सङ्घीयतालाई खारेज गर्नु, भ्रष्टाचारको विरोधमा उभिनु, प्रवासी नेपालीप्रति सहानुभूति राख्नु र जीवन तथा जगत्प्रति गहन विमर्श गर्नु यस कवितासङ्ग्रहका सबल पक्ष हुन् ।
अन्तमा, हामीले कविलाई बधाइका केही शब्द उल्लेख गरेर यो भूमिकाको बिट मार्न चाहन्छौँ ।
कृतिकारको रूपमा कवि पहिलोपटक अगाडि आउँदै छन् । त्यसैले अहिले नै उनी जब्बर भएर आएका छन् भनेर भन्न सक्ने स्थितिमा तत्काल हामी छैनौँ तर उनी परिपक्व भएर हिँड्ने प्रयत्नमा छन् । यो कृतिबाट कविको वैचारिक र साहित्यिक बाटो तय भएको छ । स्पष्ट छ, क्रान्तिकारी (प्रगतिशील) धारामा उनी उभिएका छन् । प्रगतिशील मान्यताको मुख्य मापदण्ड अग्रगामी परिवर्तनको उद्देश्य अँगाल्नु हुन्छ । यथास्थितिलाई बदल्नुपर्ने कारण दर्साउँदै अग्रगामी दिसातर्फ गतिशील हुनु प्रगतिशील चरित्र हो । हामी भन्न चाहन्छौँ र कामना पनि गर्दछौँ कि उनले आज समाएको धारालाई भविष्यमा पनि कायम राखुन् र बहुसङ्ख्यक जनताको भाषा बोल्दै जाउन् । उनी प्रगतिशील मात्र होइन, त्योभन्दा अगाडि बढेर समाजवादी यथार्थवादी (प्रगतिवादी) धाराका सशक्त हस्ताक्षर बन्न सफल हुन सकुन् ।
आज उनले जे गरेका छन्, त्यो राम्रो गरेका छन्, भविष्यमा अझ राम्रो लेख्न र गर्न सकुन् र जनताको लेखक बन्दै जाउन् । उनको उत्तरोत्तर प्रगतिको लागि शुभकामना र बधाइ छ ।
(पुस्तकको भूमिका)

