Close Menu
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Facebook X (Twitter) Instagram
Aayo Raibar
  • होमपेज
  • समाचार
    • मुख्य समाचार
    • विश्व
    • फिचर
    • सूचना-प्रविधि
    • शिक्षा
  • राजनीति
    • हाम्राे सरकार
    • कुटनीति
  • समाज
    • सुरक्षा
    • अपराध
    • पर्यटन
    • वातावरण
    • जात्रा-पर्व
    • रितिरिवाज
    • घटना-दुर्घटना
  • बहस
    • अन्तर्वार्ता
    • विचार
    • प्रवास
    • ब्लग
    • सम्पादकीय
  • अर्थ
    • कृषि
    • सहकारी
    • बजार
    • बैँक / वित्त
    • रोजगार
    • विजनेश
    • अटो
  • कला
    • साहित्य
  • मनोरन्जन
    • चलचित्र
      • गसिप
      • ब्लोअप
      • बलिउड
    • भिडियो
    • संगीत
  • खेल
    • अन्तराष्ट्रिय
    • राष्ट्रिय
  • जीवनशैली
    • घुमफिर
    • टिप्स
    • सौन्दर्य
    • स्वास्थ्य
    • फेसन
      • सेलिव्रेटी
  • प्रदेश
    • काेसी
    • मधेश
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • विविध
    • रोचक विश्व
    • राम्रो नेपाल
    • धर्मसंस्कृति
    • पत्रपत्रिका
    • बाल चाैतारी
    • भ्रष्टचार
    • मैले जे देखें
Aayo Raibar
कला

ढूट, खाम/पाङ, काइके र पोइके भाषिका होइन, पृथक् मगर भाषा [पुस्तक समीक्षा]

By आयो रैबार संवाददाता१० असार २०८१, आईतवार ००:४५
Facebook Twitter Pinterest LinkedIn Tumblr Email
Share
Facebook Twitter LinkedIn Pinterest Email

निष्कर्ष

मगर भाषाभित्रका चारओटा भाषाहरू ढूट, खाम/पाङ, काइके र पोइके पृथक् भाषा हुन् वा भाषिका ? यस पुस्तकले उठान गर्न खोजेको विषय यही हो । यही प्रश्नको उत्तर खोज्न प्रतिष्ठानले लेखकलाई यो जिम्मेवारी प्रदान गरेको थियो ।

भाषा वा भाषिकासम्बन्धी शब्दसूचीको तुलना गर्दा ६० प्रतिशत समानतालाई विच्छेद विन्दु मान्ने प्रचलन रहेको डा. तारामणि राईले बताएका छन् । त्यसअनुसार २१० ओटा शब्दलाई “कग” सफ्टवेयरमा समेत राखेर तुलना गर्दा त्यो विच्छेद विन्दु हासिल भएको छैन अर्थात् चारओटै भाषा एकआपसमा ६० प्रतिशत समानता कायम भएको अवस्था छैन । यदि यी चारओटा भाषामध्ये कुनै पनि एउटा भाषा अर्को भाषासित ६० प्रतिशत वा त्यसभन्दा बढी समानता कायम भएको भए भाषिका मान्न सकिन्थ्यो ।

पुस्तकको अध्ययन गर्दा अपवादस्वरूपमा मात्रै यस्ता समानता देखा पर्दछ । उदाहरणका लागि ‘फलफूल’ (पृ. ८८), ‘भन्टा’ (पृ. ८९), ‘अँ’ (पृ. १२७), ‘मासु’ (पृ. १४९) शब्द चारैओटा भाषामा मिलेको देखिन्छ ।

त्यस्तै अपवादको रूपमा नामशब्दको ध्वन्यात्मक तुलना (फोनेटिक सिमिलरिटी) गर्दा तालिका नं. २६ मा काइके मगर भाषा र पोइके मगर भाषामाझमा ६२ प्रतिशत (पोइके मगर भाषा र काइके मगर भाषामाझमा पनि ६२ प्रतिशत नै समानता देखिएको अवस्था छ (पृ. १५०) ।

यसरी लेखक थापाको अध्ययनबाट मगर भाषाअन्तर्गतका चार भाषाहरू ढूट, खाम/पाङ, काइके र पोइके भाषिका होइनन् बरु पृथक् भाषा नै हुन् भन्ने तथ्य प्रमाणित भएको छ यद्यपि यी चारैओटा भाषा मगर भाषाअन्तर्गतका भाषा हुन् । यो अध्ययनले गर्दा यी चार भाषाको संरक्षणमा ध्यान दिनुपर्ने गम्भीर आधार अभिव्यक्त भएको छ ।

विषयप्रवेश

नेपालमा मगर जाति आदिवासी जनजाति प्रवर्गमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको जाति हो । नेपालमा क्षेत्री र ब्राह्मणपछि सबैभन्दा बढी जनसङ्ख्या मगर जातिको रहँदै आएको छ । २०७८ सालको बाह्रौँ राष्ट्रिय जनगणनामा पनि स्थिति त्यही प्रकारको छ तर जनसङ्ख्यामा तेस्रो बाहुल्यता रहे पनि भाषिक प्रयोक्ताको क्रमाङ्कमा भने मगर भाषा तल रहने गरेको छ ।

जनघनत्वका हिसाबले मगरहरू पाल्पा, रोल्पा, तनहुँ, बागलुङ, प्युठान, म्याग्दी, नवलपरासी, रुपन्देही, सुर्खेत, स्याङजा, रुकुम, सिन्धुली, सल्यान, ओखलढुङ्गा, डोल्पा, दाङ, गुल्मी, उदयपुर, अर्घाखाँची र पर्वतसहित सबै जिल्लामा बसोबास गरेको देखिन्छ ।
नेपालमा भोटबर्मेली, भारोपेली, आग्नेली, ड्रबिडेलीका साथै अवर्गीकृत भाषा परिवारका भाषा बोलिन्छन् । त्यसमध्ये मगर भाषा भोटबर्मेली भाषा परिवारभित्र पर्दछ । २०६८ सालको एघारौँ राष्ट्रिय जनगणनामा विभिन्न भाषामध्ये एकल भाषाको क्रमाङ्कमा मगर भाषा २.९८ प्रतिशतका साथ नवौँ स्थानमा थियो । अहिले पनि स्थिति त्यही छ । २० लाखभन्दा बढी जनसङ्ख्या भएको मगर जाति वक्ताको प्रसङ्गमा चर्चा गर्दा उनीहरूको सङ्ख्या एघारौँ जनगणनामा ८ लाखको सेरोफेरोमा रहेकोमा बाह्रौँ जनगणनामा ९ लाखभन्दा बढी छन् ।

मगर भाषामध्ये सबैभन्दा बढी ढूट मगर भाषा बोलिन्छ तर त्यसको कुनै खास क्षेत्र छुट्याइएको छैन । यसका वक्ता नेपालभरि रहेका छन् । २०६८ सालभन्दा अघिका जनगणनामा मगर भाषा भन्नाले ढूट मगर भाषालाई नै लिने गरिएको छ । एघारौँ जनगणनाअनुसार खाम/पाङ मगरभाषी वक्ताहरू ३१ जिल्लामा छरिएर रहेको, त्यसमध्ये रोल्पामा बढी, त्यसका साथै रुकुम, दाङ, कैलाली, म्याग्दी, बागलुङ र कास्की जिल्लामा पनि रहेको देखिन्छ । त्यस्तै, काइके भाषा डोल्पा जिल्लाको काइके गाउँपालिकाको सहरतारा, तुपतारा र ताराकोट गाउँमा बोलिन्छ । स्थानीय भाषामा त्यसलाई ताराली भनिन्छ । एवम् प्रकारले, डोल्पाकै सोही पालिकामा पोइके मगर भाषा पनि बोलिन्छ ।

मगर भाषाको वर्णव्यवस्थाको सन्दर्भमा ढूट मगर भाषाको ३२ ओटा व्यञ्जन वर्ण र १२ ओटा स्वर वर्ण, खाम/पाङ मगर भाषाको २२ ओटा व्यञ्जन वर्ण र ६ ओटा स्वर वर्ण तथा काइके मगर भाषाको २६ ओटा व्यञ्जन र ६ ओटा स्वर्ग वर्ण रहेको वर्ण निर्धारण गोष्ठी–२०६४ ले किटानी गरेको थियो । यता, पोइके मगर भाषाको भने वर्णलिपि निर्धारण गरिएको छैन ।

उपर्युक्त सङ्क्षिप्त विवरणबाट मगर जाति र मगर भाषा नेपालको उल्लेखनीय तर संरक्षणको आवश्यकतामा रहेको जाति र भाषा हो भन्ने देखिन्छ । यी जातिभित्र चारओटा भाषा बोलिने गरिएको सन्दर्भमा ती भाषामाझका समानता र असमानताको अवस्था के छ ? यो विषयमा अध्ययन गरी यिनीहरू सबै मगर भाषाकै भाषिका हुन् वा पृथक् भाषा हुन् भन्ने ज्वलन्त प्रश्नको उत्तर दिनुपर्ने अवस्था थियो ।
यसै सन्दर्भमा लेखक लोकबहादुर थापाको “मगर भाषा” शीर्षकको पुस्तक प्रकाशन भएको छ । सो पुस्तकको तुलनात्मक अध्ययन आम पाठकका लागि औचित्यपूर्ण हुने ठानेर यहाँ त्यसको सङ्क्षिप्त समीक्षा गरिएको छ ।

लेखक परिचय

लेखक लोकबहादुर थापा “झूस्या मगर” साहित्यका साथै गैरसाहित्यिक क्षेत्रमा पनि कलम चलाउँछन् । उनले सम्पादन र अनुवाद जस्ता क्षेत्रमा पनि हात हालेका छन् । त्यस क्रममा उनले विभिन्न पुरस्कार तथा सम्मान पनि प्राप्त गरेका छन् । २००९ असार १२ गते स्याङजाको बिरुवा गाउँपालिकामा जन्मेका थापा हाल ललितपुरको भैँसेपाटीमा बस्दै आएका छन् । भूगोल विषयमा स्नातकोत्तरसम्मको औपचारिक अध्ययन गरेका थापाले समाजसेवा र राजनीतिमा पनि संलग्नता देखाएका छन् । उनी अध्ययन–अनुसन्धानमा पनि त्यत्तिकै क्रियाशील छन् । उनले दुई दर्जनजति एकल र संयुक्त रूपमा मगर भाषासहित विभिन्न विषयमा कलम चलाएका छन् । त्यस्तै, केही आवधिक र अनियतकालीन प्रकाशनको सम्पादन तथा अनुवादसमेत गरेका छन् ।

कृति परिचय

यहाँ समालोचना गर्न थालिएको पुस्तक “मगर भाषा” तुलनात्मक अध्ययन (ढूट, खाम/पाङ, काइके र पोइके) हो । यो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले गर्न लगाएको अनुसन्धान प्रतिवेदनको पुस्तकआकार कृति हो । आ.व. २०७६/७७ सालमा सम्पन्न गरिएको उक्त अनुसन्धान कार्यलाई २०७९ सालमा पुस्तकको रूपमा प्रकाशन गरिएको छ । प्रतिष्ठानले नै प्रकाशन गरेको यो पुस्तक डिमाइ आकारमा २०० पृष्ठको छ । अनुसन्धान कार्यको प्रतिवेदन भएकाले सम्भवतः यो पुस्तकको विक्रीवितरणतर्फ त्यति ध्यान दिइएको देखिन्न ।

पुस्तकको विषयवस्तु

शीर्षकबाट नै स्पष्ट छ, यो पुस्तक मगर भाषाको तुलनात्मक अध्ययनमाथि आधारित छ । यो मगर भाषाको बारेमा औपचारिक जानकारी दिनेभन्दा पनि मगर भाषाभित्रका चारओटा भाषामाझको तुलनात्मक अध्ययनमा केन्द्रित छ । यस सन्दर्भमा उल्लेखनीय तथ्य यो हो– अझै पनि मगर भाषाभित्र मुख्यतः तीनओटा भाषाको रूपमा ढूट, खाम/पाङ र काइकेको नाम लिने गरिएकोमा यस पुस्तकले पोइकेलाई पनि मान्यता दिएर त्यसलाई तुलनात्मक अध्ययनमा सामेल गरेको छ ।

पक्कै पनि मगर भाषासित सम्बन्धित पुस्तक भएकाले भाषाको परिचय, मगर जाति, उनीहरूको उत्पत्ति जनघनत्व, भूगोल, वर्तमान अवस्था जस्ता विषयवस्तु यसको प्रारम्भमा नै राखिएको छ । पाँच अध्यायको यो पुस्तकको पहिलो अध्यायमा परिचयात्मक खण्डको रूपमा चारओटै भाषाको बारेमा जानकारी दिइएको छ ।

दोस्रो अध्याय मगर जाति र मगर भाषाको बारेमा छ । यसमा जाति र जातिमाझको भिन्नता, मगर जातिको उत्पत्तिको इतिहास, मगर शब्दको नामकरण र जनसङ्ख्या, मगर भाषाको वर्णव्यवस्था, भाषासम्बन्धी राष्ट्रिय जागरण, भाषाको भूगोल, भाषामृत्युको अवस्था, मगर भाषाको वर्तमान अवस्था र भाषाप्रयोगको विभिन्न माध्यमका बारेमा उल्लेख छ ।

तेस्रो र चौथो अध्यायमा पुस्तकको मुख्य विषयवस्तु रहेको छ । यसै अध्यायमा चारओटा भाषाको माझमा तुलनात्मक अध्ययन गरिएको छ ।

तेस्रो अध्यायमा ढूट, खाम/पाङ, काइके र पोइके मगर भाषाका २१० ओटा शब्दको तुलना गरिएको छ । त्यस क्रममा शब्दात्मक र ध्वन्यात्मक दुवै प्रकारको विधिबाट तुलना गरिएको छ । यस्तो तुलनालाई अझै विश्वसनीय बनाउन प्रविधिको सहायता लिइएको छ । “कग” सफ्टवेयरको सहायताले चारैओटा भाषाको माझमा वैज्ञानिक अध्ययन गरिएको अवस्था यसमा छ ।

चौथो अध्याय अझै सूक्ष्म छ । यस अध्यायमा चार भाषाको तुलनात्मक अध्ययन गहिराइमा पुगेको छ । यहाँ क्रियापद, सकर्मक क्रियापद, अकर्मक क्रियापद, क्रियाविशेषण, विशेषण र नामका शब्दको माझमा शब्दात्मक र ध्वन्यात्मक विश्लेषण गरिएको छ ।
यी दुवै अध्यायमा तुलनात्मक विधि प्रयोग गरिरहँदा विभिन्न उपकरणको प्रयोग गरिएको छ । त्यस क्रममा ३०/३० ओटा सकर्मक क्रियापद, ३०/३० ओटा अकर्मक क्रियापद, २५/२५ ओटा क्रियाविशेषण, ४०/४० ओटा विशेषण र ५०/५० ओटा नामलाई तुलनामा समावेश गरिएको छ । यी शब्दमाझको तुलनात्मक वैज्ञानिक पुष्टीकरण गर्न तालिका मात्रै होइन, ध्वनिविज्ञान र शब्दसम्बन्धी तुलनात्मक उपकरणको प्रशस्त प्रयोग गरिएको छ । यस क्रममा शब्दात्मक रेखाचित्र (लेक्सिन डेन्ड्रोग्राम), ध्वन्यात्मक रेखाचित्र (फोनेटिक डेन्ड्रोग्राम), ध्वन्यात्मक जाललेख चित्र (फोनेटिक नेटवर्क ग्राफ), शब्दात्मक तालिका (लेक्सिन म्याट्रिक्स), ध्वन्यात्मक तालिका (फोनेटिक म्याट्रिक्स), ध्वन्यात्मक समानता (फोनेटिक सिमिलरिटी), शब्दात्मक समानता (लेक्सिन सिमिलरिटी) जस्ता तथ्याङ्कीय उपकरणको प्रयोग गरिएको छ ।

पाँचौँ अर्थात् अन्तिम अध्ययायमा लेखकले निष्कर्ष र सुझाव प्रस्तुत गरेका छन् । त्यस क्रममा लेखकले राज्यको तर्फबाट गर्नुपर्ने कामको रूपमा १३ ओटा सुझाव दिएका छन् । त्यस्तै, मगर जाति स्वयम्ले गर्नुपर्ने कामको रूपमा उनले १६ ओटा सुझाव दिएका छन् ।
एवम् प्रकारले थप अध्ययन गर्नुपर्ने चारओटा विषय पनि लेखकले किटानी गरेका छन् । ती चारओटा विषय यी हुन् : १. सेसी, गमाले र पर्वते भेद वा भाषिकाबिच तुलना, २. काइके मगर र पोइके मगर भाषाका शब्दकोश निर्माण, ३. पोइके मगर भाषाको व्याकरण लेखन र ४. ढूट मगर भाषाको शब्दकोश परिमार्जन ।

पुस्तकमा लेखक थापाले अनुसूची, तालिका, नक्सा, रेखाचित्र, वृत्तचित्र र जाललेख चित्र व्यापक सङ्ख्यामा प्रस्तुत गरेका छन् । त्यस क्रममा परिशिष्टको रूपमा ६ ओटा अनुसूची, २६ ओटा तालिका, ६ ओटा नक्सा, १७ ओटा रेखाचित्र, ११ ओटा वृक्षचित्र र १० ओटा जाललेख चित्रसूची समावेश गरिएको छ । त्यस्तै, पुस्तकको अन्तमा नेपाली र अङ्ग्रेजीमा सन्दर्भ सामग्री पनि दिइएको छ ।
प्रस्तुत पुस्तकमा द्वितीयक स्रोत प्रयोग गरिएको छ तर ती स्रोत आधिकारिक छन् । सरकारी निकायद्वारा गराइएका अध्ययन–अनुसन्धानबाट प्राप्त तथ्य, तथ्याङ्क, सूचना र स्रोत लिइएकाले ती भरपर्दा छन् ।

सबल पक्ष

पुस्तकको सबल पक्षको बारेमा धेरै भन्नु छैन किनकि यसबारे पुस्तक आफैले धेरै तथ्य प्रस्तुत गर्दछ ।

सम्भवतः मगर भाषाभित्रका चारओटा भाषाको अध्ययन गरिएको यो पहिलो प्रयास हो कि झ् लेखक थापाले आधिकारिक स्रोतको आधारमा यी भाषाको माझमा तुलनात्मक अध्ययन गरेका छन् । त्यस क्रममा उनले खालि प्रकाशित स्रोतसम्म मात्र सीमित नरहेर लक्षित क्षेत्रको व्यक्तिसम्मै पुगेर थप सूचना सङ्कलन गरेका छन् । यस सन्दर्भमा उनले चारओटै भाषाका वक्ताहरूसम्मै पुगेर चारैओटा व्यक्तिको सहयोग लिएका छन् । यसले पुस्तकलाई भरपर्दो बनाएको छ ।

प्रस्तुत पुस्तकले आफ्नो उद्देश्यप्राप्तिमा सफलता प्राप्त गरेको छ भनेर भन्न सकिन्छ । जुन उद्देश्यका लागि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले उनलाई अध्ययन–अनुसन्धानको जिम्मेवारी सुम्पिएको थियो, त्यो जिम्मेवारी लेखक थापाले सफलतापूर्वक निर्वाह गरेका छन् । यो पुस्तक पढेपछि जो कोही पाठकले यी चार भाषा आफैमा भाषा हुन्, भाषिका होइनन् भन्ने निष्कर्षमा सजिलै पुग्ने छ । यो नै पुस्तकको सफलता हो र यो सफलता लेखकको पनि हो ।

दुर्बल पक्ष

पुस्तकको सबल पक्षको तुलनामा दुर्बल पक्ष गौण छन् । अनुसन्धानमूलक कृति भएकाले तथा सङ्गठित संस्थाको निर्देशनमा काम गर्नुपर्ने भएकाले यो पुस्तकमा गल्ती न्यूनीकरणको अवस्था छ । फेरि पनि केही सामान्य दुर्बलता औल्याइदिँदा लेखक र प्रकाशकलाई यसको अर्को संस्करण प्रकाशन गर्दा मदत पुग्ने आशा गर्न सकिन्छ ।

१. तालिकामा राखिएका शब्दहरू वर्णानुक्रमअनुसार र राखिएको भए पाठकका लागि सहज हुन्थ्यो ।

२. कतिपय शब्दवर्गमा अन्य शब्दवर्गका शब्द मिसिएका छन् । जस्तै : विशेषण शब्दको तालिकामा सर्वनाम शब्द मिश्रण भएको छ (पृ. १३५) ।

३. भाषा व्याकरणमा सामान्य त्रुटि छन् । एकपटक छपाइशुद्धि परीक्षक (प्रुफ रिडिङ) गर्नासाथ यो गौण समस्या हटिहाल्ने छ ।

४. पुस्तकमा प्रतिनिधिमूलक फोटा वा स्क्याच समावेश गर्न पाएको भए सुनमा सुगन्ध हुने थियो ।

५. सन्दर्भ सामग्री ए.पी.ए. फर्म्याटअनुसार नै छ तर साइटेसनमा सो फर्म्याट लागु हुन सकेको छैन ।

सुझाव

लेखक थापाको प्रस्तुत पुस्तक आ.व. २०७६/७७ मा गरिएको अध्ययनमाथि आधारित छ । यसैको अर्को वर्ष २०७८ सालमा बाह्रौँ राष्ट्रिय जनगणना सम्पन्न भएको छ । २०७९ सालमा यो पुस्तक प्रकाशित भएको छ ।

बाह्रौँ राष्ट्रिय जनगणनाले केही नयाँ तथ्य सार्वजनिक गरेको छ । त्यसमध्ये २०६८ सालको जनगणनामा १२५ जातजाति पाइएकोमा २०७८ सालसम्म आइपुग्दा १७ ओटा नयाँ जाति थपिएर अब त्यो सङ्ख्या १४२ ओटा पुगेको छ । त्यस्तै, २०६८ सालमा १११ ओटा भाषाहरू रहेकोमा त्यसमा १३ ओटा थपिएर कुल भाषाको सङ्ख्या १२४ पुगेको छ ।

बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ मा मगर जातिको जनसङ्ख्या १८,८७,७३३ बाट बढेर २०,१३,४९८ पुगेको छ । यसबाहेक ९,८२७ पुनमगरको सङ्ख्या बेग्लै छ ।

यता, यही जनगणनामा मगर भाषामध्ये ढूट मगरलाई मूल मान्दा त्यसका वक्ताको सङ्ख्या ८,१०,३१५ (२.७८ प्रतिशत) रहेको छ । त्यसका साथै खाम मगर भाषाका वक्ताको सङ्ख्या ९१,७१५ (०.३१ प्रतिशत) र काइके मगर भाषाका वक्ताको सङ्ख्या १,२२५ (० प्रतिशत) रहेको छ ।

यस प्रकारले बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ ले मगर जाति र मगर भाषाको विषयमा पनि नयाँ तथ्याङ्क प्रकाशित गरेको अवस्थामा यस अध्ययनलाई छिट्टै परिमार्जन गर्नुपर्ने देखिन्छ । त्यसबारेमा सम्बन्धित सरोकारवालाको ध्यान जानुपर्ने देखिन्छ ।

सन्दर्भ सामग्री

थापा मगर, लोकबहादुर (सम्पा.) (२०७५). मगर भाषाका साहित्यकार परिचयमाला. प्रथम संस्करण. ललितपुर : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।

थापा मगर, लोकबहादुर (२०७९). मगर भाषा, तुलनात्मक विश्लेषण (ढूट, खाम/पाङ, काइके र पोइके). प्रथम संस्करण. ललितपुर : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ।

Nepal Government (2023 AD). National Population and Housing Census 2021, National Report on Caste/ethnicity, Language & Religion. Kathmandu: National Statistics Office.

Author

  • आयो रैबार संवाददाता

    View all posts

कृति समीक्षाा समीक्षा
Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

सम्बन्धित समाचार

बालगायक अशोक दर्जीको जीवनीमा बन्यो चलचित्र ‘मन बिनाको धन’

१५ कार्तिक २०८२, शुक्रबार १०:४२

उ घर खोज्दै छ (कथा)

१२ कार्तिक २०८२, मंगलवार १५:३३

नाट्यग्रन्थ लाेकार्पण कार्यक्रममा चार स्रष्टा सम्मानित

३० आश्विन २०८२, बिहीबार १४:०६
aayo raibar

निशान्त मिडिया प्रा. लि.

सुचना विभाग दर्ता नं.२२११/०७७/०७८
वीरेन्द्रनगर-३, सुर्खेत

अध्यक्ष/ प्रधान सम्पादक जीवन शाही
सम्पादक: शकुन्तला शाही
कार्यकारी निर्देशकः मञ्जु शाही

लेख, रचना तथा समाचारका लागि:
इमेलः newsaayoraibar@gmail.com

विज्ञापनका लागि

हामीसँग विज्ञापन गर्न इच्छुक हुनुहुन्छ भने यसका लागि हामीसँग विभिन्न प्याकेजहरु छन् । हामीलाई निम्न नम्बर र इमेलमा सम्पर्क गरेर यसबारे थप जानकारी लिन सक्नुहुन्छ ।

इमेलः advertising@aayoraibar.com,
मोबाइल नम्बरः ९८५८०३७७९७

हामीसँग काम गर्नुहाेस्

आयो रैबारले सुरुवातदेखि नै लेख्न चाहने र समाचारप्रति भोक भएकाहरुलाई विशेष प्राथमिकता दिँदै आएको छ । तपाईंलाई पनि टिममा रहेर काम गर्न मन छ भने हामीलाई इमेल गर्न सक्नुहुनेछ। इमेलमा तपाईं किन समाचारमा काम गर्न चाहनुहुन्छ भन्ने पनि खुलाउन नर्बिसिनुहोला ।

ईमेलः aayoraibar@gmail.com

© 2022 Nishant Media Pvt. Ltd. | Developed by Webpal

हाम्रो बारेमा / हाम्रो टीम / प्रयोग नीति / गोपनियताको नीति