सुर्खेत । विपद्का बेला उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारीले आफ्नो तलबबाट रकम योगदान गर्ने भएका छन्।र
विश्वविद्यालयको सोमबार बसेको बैठकले भदौ महिनाको तलब भुक्तानी गर्दा तहअनुसार निश्चित दिनको तलब कट्टा गरी प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।
विश्वविद्यालयका रजिष्ट्रार डा. अर्जुनबहादुर अयडीका अनुसार यो निर्णय विश्वविद्यालय र मातहतका निकायमा कार्यरत सबै तहका पदाधिकारी, शिक्षक तथा कर्मचारीलाई समेटेर गरिएको हो।
निर्णयअनुसार सबैभन्दा बढी योगदान उपकुलपति र रजिष्ट्रारले एक महिनाको तलब बराबरको रकम दिनेछन्। डिन, कार्यकारी निर्देशक तथा परीक्षा व्यवस्थापन प्रमुखले १५ दिनको तलब बराबरको रकम योगदान गर्नेछन्।
त्यस्तै, प्राध्यापक तथा सह–प्राध्यापक वा सोसरहले १० दिन, उप–प्राध्यापक, शिक्षण सहायक तथा प्रशिक्षक वा सोसरहले ७ दिन र मुख्य–सहायक, सहायक प्रशिक्षक, सहायक वा सोसरहका कर्मचारीले ५ दिनको तलब योगदान गर्नेछन्।
श्रेणीविहीन कर्मचारीको हकमा भने दुई दिनको तलब कट्टा गरिनेछ।
विश्वविद्यालयले विपद्का समयमा आफ्नो संस्थागत दायित्व निर्वाह गर्दै उद्धार तथा राहत अभियानमा सहयोग गर्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।

